९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावी एजेण्डा लिएर उम्मेदवार घरदैलोमा




म्याग्दी
, १६ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि म्याग्दीका राजनीतिक दल आफ्ना उम्मेदवारलाई भोट माग्न जनताको घरदैलोमा पुग्न थालेका छन् ।

आफ्नो चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा पुगेका उम्मेदवारहरुले जिल्लाको विकास निर्माण र समृद्धिका लागि आफ्नो कार्यकालमा गर्ने योजना जनतामाझ राखिरहेका छन् ।

जिल्लामा तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका दलहरुले चुनावी आमसभा, घरदैलो लगायतका माध्यमबाट चुनाव प्रचार प्रसारलाई तीव्र बनाएका हुन् । प्रतिनिधि सभाको एक र प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेस र राप्रपाले तालमेल गरेपछि निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने भएको छ ।

तीन सिटका लागि १२ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा वाम र लोकतान्त्रिक गठबन्धनबीच हुने देखिएको छ । प्रतिनिधि सभाका लागि एमाले माओवादीका साझा उम्मेदवार भूपेन्द्रबहादुर थापा र कांग्रेस राप्रपाको प्रजातान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका खम्बिर गर्बुजा चुनावी मैदानमा उत्रिएका छन् ।

मंगला गाउँपालिका ३ बरंजाबाट संयुक्त चुनाव प्रचार अभियान शुरु गरेको वाम गठबन्धनले प्रदेश सभाको २ नं क्षेत्रमा रहेका मंगला, मालिका र धौलागिरि गाउँपालिकामा घरदैलो, आमसभा तथा कार्यकर्ता भेटघाटका कार्यक्रमलाई तीव्रता दिएको छ ।

यता प्रदेश सभाको क्षेत्र नं १ मा राप्रपाका भीमप्रसाद गौचनसँग प्रतिस्पर्धामा रहेका वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता विनोद केसी सहितको टोलीले अन्नपूर्ण गाउँपालिकामा घरदैलो सकेर रघुगंगा गाउँपालिकाको गाउँ गाउँमा घरदैलो अभियान सञ्चालन गरेको छ ।

राप्रपासंग चुनावी तालमेल गरेको नेपाली कांग्रेसले समेत चुनाव प्रचार प्रसार अभियानलाई तीब्र बनाएको छ । उत्तरी अन्नपूर्ण गाउँपालिका ३ दानाबाट चुनाव प्रचार अभियान थालेको कांग्रेसले अन्नपूर्ण गाउँपालिकाका सम्पूर्ण वडासहित, बेनी नगरपालिका, मंगला, मालिका र धौलागिरि गाउँपालिकामा चुनाव प्रचार अभियानलाई तीव्र बनाएको नेपाली कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँले बताए ।

उता, प्रदेश सभाको क्षेत्र नं २ मा वाम गठबन्धनबाट उम्मेदवार बनेकी एमालेकी नरदेवी पुन र प्रजातान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका अमलाल फगामीले समेत घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १६ हजार ९८२, राप्रपाले ६६०, एमालेले १८ हजार ९३८ र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले पाँच हजार ७०७ मत ल्याएका थिए ।

कूल ४५ वटा वडाका अध्यक्षका उम्मेदवारले पाएका मतलाई आधार बनाउँदा म्याग्दीमा वाम गठबन्धन प्रजातान्त्रिकभन्दा सात हजार मतले अगाडि छ ।
रासस

प्रकाशित मिति : १६ कार्तिक २०७४, बिहिबार ००:००