२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु



 

१४ कात्तिक, चितवन । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु गरिएको बताएका छन् ।

पत्रकारसंग कुरा गर्दै मन्त्री पाण्डेले निकुञ्जभित्र पर्ने सडक छेउमा रहेका रुख काट्ने काम शुरु गरिएको बताउँदै भने, “सडकमा आवागमन गर्न असहज बनेका रुखमा टाँचा लगाइएको छ । ती रुखहरु काट्ने काम शुरु भएको हो ।” भरतपुरबाट माडी जाने क्रममा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आठ किमी सडक पर्छ ।

यससंगै माडीवासीका लागि निकुञ्ज यात्रा गर्दा लाग्ने शुल्क नलिने वातावरण तय गर्नका लागि अन्तिम गृहकार्य भइरहेको बताइएको छ । उनले भने, “जिल्ला सदरमुकामबाट घर जानका लागि पनि कर तिर्नुपर्ने बाध्यता माडीवासीमा छ । यसको अन्त्य चाँडै हुन्छ ।” अहिले माडीवासीले भरतपुरबाट माडी जानका लागि मोटरसाइकल, बयलगाडा र टाँगाको १० कर तिर्दै आएका छन् भने बस, कार, जीप, ट्र्याक्टर, लरीलगायत पाँच टनसम्मका सवारी साधनले ५० शुल्क तिर्ने गरेका छन् ।

फरक प्रसंगमा मन्त्री पाण्डेले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू चितवन क्षेत्र नं ३ बाट उम्मेदवार हुने बताए । यसअघि विजयी भएको क्षेत्र भएकाले पनि आफू सोही क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको उनको भनाइ थियो । यसअघि उनी चितवन क्षेत्र नं ५ बाट विजयी भएका थिए । सो क्षेत्र अहिले क्षेत्र नं ३ मा पर्छ ।

वाम गठबन्धनबाट सोही क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोही क्षेत्रमा दाहालकै प्रतिष्पर्धामा लोकतान्त्रिक गठबन्धनबाट पाण्डे उम्मेदवार हुन लागेका हुन् ।
रासस

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलबार ००:००