११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जग्गा एकीकरणका लागी भक्तपुर नगरपालिकाले लियो २० करोड ऋण



काठमाडौं । नगर विकास कोषले भक्तपुर नगरपालिकालाई जग्गा एकीकरणका लागी २० करोड रुपैयाँ ऋण दिने भएको छ ।

कोष र नगरपालिकाबीच सोमबार भएको सम्झौताअनुसार ‘देको मिवा इतापका’ भन्ने ठाउँको जग्गा एकीकरणका लागी उक्त ऋण दिइएको हो ।

कोषका कार्यकारी अधिकृत कष्णप्रसाद सापकोटाका अनुसार ५ बर्षका लागी ८ प्रतिशत ब्याजमा उक्त ऋण दिइएको हो । ५ बर्षमध्ये २ बर्ष भने सहुलियत ऋण दिएको छ । ऋणबाट प्राप्त रकमले १ हजार ६५४ रोपनी जग्गा एकीकरण गरिनेछ ।

“कोषले अहिलेसम्म सिँचाइ, खानेपानी, भवन, बस टर्मिनलजस्ता पूर्वाधार निमाण गर्न मात्रै ऋण लगानी गर्दै आएको थियो । जग्गा एकीकरणका लागी ऋण दिएको पहिलो पटक हो,” सापकोटाले भने, “व्यवस्थित शहरीकरणका लागी जग्गा एकीकरण आवश्यक छ । ऐतिहासिक काम भक्तपुरबाट सुरू भएको छ ।”

यसै गरि जग्गा एकीकरणका लागी पूँजी अभाव भएका अरू नगरपालिकाहरूलाई ऋण दिइने सापकोटाले बताए ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले तोकिएको समयभित्र ऋण तिरिसक्ने दाबी गरे ।

“कार्यपालिकामा ऋण लिने निर्णय गर्दा तिर्न नसकिने हो कि भनेर जनप्रतिनिधीहरूले चिन्ता गर्नुभयो,” श्रेष्ठले भने, “तिर्न सकिने आधारहरू देखाए पछि निर्णय भयो । जनप्रतिनिधीहरूको गम्भीरता र तिर्न सक्ने आधारहरू भएकाले तोकिएको समयभित्र ऋण चुक्ता गरिसक्छौँ ।”

जग्गा एकीकरणका लागी लाग्ने बाँकी ७ करोड ३६ लाख रुपैयाँ भक्तपुर नगरपालिका आफैँले बेर्होनेछ ।

दरबार स्क्वायरलाई व्यवस्थित गर्न पार्किङ बनाइने

कोषका कार्यकारी अधिकृत सापकोटाले भक्तपुर दरबार स्क्वायरलाई ‘वाकिङ जोन’का रुपमा विकास गर्न आसपासका क्षेत्रमा पार्किङ स्थलहरू बनाउन अध्ययन भइरहेको बताए । सम्पदा क्षेत्र भएकाले पर्यटकलाई हिँडडुल गर्ने उद्देश्यले पार्किङ बनाउन लागिएको बताए ।

“दरबार स्क्वायरलाई अझ व्यवस्थित गर्न नजिकका ठाउँहरूमा पार्किङस्थल बनाउन अध्ययन भइरहेको छ,” सापकोटाले भने, “पार्किङस्थल बनाएर दरबार स्क्वायरलाई ‘वाकिङ जोन’ बनाएर थप ब्यवस्थित गर्न अध्ययन भइरहेको छ ।”

दरबार स्क्वायर घुम्न आउने पर्यटकबाट उठ्ने शुल्क भक्तपुर नगरपालिकाको आम्दानीको मुख्य स्रोत हो । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका शुल्कवापत बार्षिक ३० करोड रुपैयाँ शुल्क उठ्ने गरेको छ । प्रतिबर्ष करिब डेढ लाख विदेशी पर्यटकले शुल्क तिरेर दरबार स्क्वायर घुम्दै आएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार ००:००