३० फाल्गुन २०८०, बुधबार | Thu Mar 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुस्ताबासी भन्छन्ः झोलुङ्गे पूल चाँडो बने सुखका दिन आउँथ्यो कि !



नवलपरासी । भारतले सीमा मिचेर हैरानी खेपिरहेको गाउँपालिका हो, सुस्ता । गाउँपालिकाको वडा नं. ५ को एउटा बस्ती नारायणी नदी पारी छ । नदीमा पूल नहुँदा नदी पारीका सुस्ताबासीको दुःखहरू बयान गरि नसक्नुको छ ।

नदी पारीको सुस्ता सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत अहेव अशोक चौधरी भन्छन्, “नदीमा पूल छैन । दैनिक जिवनयापन त कष्टकर छ । सुत्केरी गराउन, अकास्मिक रुपमा जटील उपचार गर्न पनि भारत जानु पर्ने अवस्था छ ।”

उपचार, किनमेल वा अन्य कामका लागी भारतको टङ्की बजार जाँदा भारतीय प्रहरीको हेपाई खेप्नु पर्ने अनुभव चौधरीसँग छ । भारतले सीमा मिच्न खोज्दा प्रतिकारमा उत्रिँदै आएका छन् । त्यसैले पनि भारती प्रहरी र नागरिक सुस्ताबासी प्रति नकरात्मक छन् ।

“सुस्ताको नाम लिनेवत्तिकै भारतीय प्रहरीले अभद्र व्यवहार गरिहाल्छ । त्यसैले त्यता जान मन लाग्दैन । अति बाध्यात्मक अवस्था आए पछि मात्रै भारतमा जान्छौँ,” चौधरीले भने, “
“पूल नहुँदा घरमै बच्चा जन्माउनु पर्ने बाध्यता छ । नेपालको अस्पतालमा पुग्न ढुङ्गा चढ्नु पर्ने हुन्छ । मान्छे भरिइसके पछि मात्रै डुङ्गा चलाउने हुँदा आपतको बेला काम लाग्दैन,”

सुस्ताको नारायणी नदीमा बनिरहेको झोलुङ्गे पुल । तस्बिर रञ्जित तामाङ

नियमित गर्भजाँच, बालबालिकाको खोप र प्राथमिक उपचार नदी पारी रहेको त्यही इकाईबाट हुन्छ । जटिल खालका उपचार गर्न भारत जाँदा दुव्र्यवहार खेप्नु पर्ने अनुभव चौधरीको छ ।

नदीमाथी बनिरहेको पूल आर्थिक बर्ष ०७३/७४ मै बनिसक्नु पर्ने झोलुङ्गे पूल अहिलेसम्म पनि बनेको छैन । ठेकेदारको लापरवाही, कोभिड १९ को महामारीलगायतका विभिन्न कारणले अहिलेसम्म पनि निर्माण सम्पन्न भएको छैन ।

“पूल नहुँदा यहाँ उत्पादन भएको उखुले समेत बजार पाएको छैन,” चौधरीले भने, “कम्तिमा नारायणी नदीमाथी बनिरहेको पूल चाँडो बने हाम्रो सुखको दिन आउँथ्यो कि !”

नदी पारीको सुस्तावाट हालै निर्वाचित भएका वडा सदस्य आदम हुसेनले पूल नबन्दा दैनिक जिवनयापनसहित शिक्षा, स्वास्थ्य, कृषीजस्ता सबै क्षेत्रमा समस्या रहेको बताए ।

“नदी पारीको सुस्ता जहाँ मेरो टोल छ, त्यहाँ बालबालिकाहरू ८ कक्षा पढे पछि गाई गोठालो बन्नु पर्ने बाध्यता छ । तत्काल अस्पताल लैजानै पर्ने गरि कोही बिरामी पर्यो भने मृत्युबरण गर्नुको बिकल्प छैन,” सुस्ता बचाउ अभियानका उपाध्यक्षसमेत रहेका हुसेन भन्छन्, “काठमाडौंसम्मै गएर हामीले पूल चाँडो निर्माण गर्न सम्बन्धित निकायहरूमा झक्झक्यायौँ । ढिलो भइरहेकोमा दुःख लागेको छ ।”

भारतद्धारा अतिक्रमण गर्न खोजेको ठाउँ भएकाले जनसंख्यालाई ख्याल नगरि शिक्षा र स्वास्थ्यमा बिषेश व्यवस्था गर्नु पर्ने उनका माग छ ।

“कम्तीमा १० कक्षासम्म स्कूल सञ्चालन गर्न पूर्वाधार र जनशक्ति दिइनु पर्छ । किनकी १० कक्षा पास गरे पछि विद्यार्थी घर बाहिर बसेर पनि पढ्न सक्छन्,” हुसेन भन्छन्, “नेपालको राष्ट्रियतासँग जोडिएको हुँदा नदीपारीको सुस्तामा शिक्षा र स्वास्थ्यको बिषेश व्यवस्था गर्नु पर्छ ।”

एकातिर भारतको अतिक्रमण र दुर्व्यवहार, अर्कोतिर आफ्नै देशसँग गुनासो गर्नु परिरहेको हुसेनले गुनासो गरे । मुलुकमा राष्ट्रियताको ठूला कुराहरू भए पनि सुस्तावासीको पीडा बेग्लै रहेको हुसेनले बताए ।

डुङ्गाबाट नारायणी नदी तर्ने तयारीमा सुस्तावासी । तस्बिर रञ्जित तामाङ

कहिले बन्छ पूल ?

१ हजार ५७१ मिटर लामो झोलुङ्गे पूल संघीय सरकारको स्थानीय पूर्वाधार विकास विभागले निर्माण गरिरहेको छ । विभागको सस्पेन्सन ब्रिज डिभिजनका अनुसार २४ करोड रुपैयाँमा ठेक्का लागेको छ ।

विभागका प्रमुख भरत अर्यालका अनुसार सुरूमा ठेकेदारको ढिलाई, पछि कोरोना महामारीलगायतका कारणले ढिलाई भएको बताए । “भारतले गण्डक ब्यारेजको ढोका मनलाग्दी तरिकाले खोल्दा पनि ढिलाई भयो,” अर्यालले भने, “केही अघि नेपाली पक्षलाई जानकारी नदिई ढोका खोल्दा निर्माण सामाग्री बगायो । झन्डैले नेपाली प्राविधिकरूलाई बगाएन ।”

हिँउदको ३ महिना मात्रै काम गर्नु पर्ने बाध्यताले निर्माणसम्पन्न गर्न ढिलो भइरहेको अर्यालले बताए । अहिले पूलका लागी जमिनमा गर्नुपर्ने काम सकिएको छ ।

“माथीका कामहरू बाँकी छन् । लठ्ठा खरिद गर्न बाँकी छ । लक्ष्य अनुसार काम गर्न पाइए यस बर्ष निर्माण सम्पन्न हुन्छ कि,” अर्यालले भने ।

नारायणी नदी पारीको सुस्ता गाउँ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार ००:००