७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हम्पाल–मोहरेडाँडा खण्डमा नयाँ पदमार्ग निर्माण



बाबियाचौर— म्याग्दी, १३ कात्तिक । पर्वतको हम्पाल हुँदै म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडा पुग्ने पदमार्ग निर्माण भएको छ ।

अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग अन्तर्गत हम्पाल–मोहरेडाँडा खण्डमा नयाँ पदमार्ग निर्माण भएको हो । करिब दुई किमी पदमार्ग निर्माण गरिएको पदमार्गका व्यवस्थापक चित्र तिलीजा पुनले जानकारी दिए ।

जंगलको झाडी हटाएर फराकिलो बाटो बनाइएको हो । यसअघि हम्पालदेखि जलजला हुँदै धिमेडाँडासम्म घुमाउरो बाटो हिँड्नुपर्ने अवस्था थियो । हम्पालदेखि धिमे डाँडासम्म नयाँ पदमार्ग निर्माण गरेपछि ३० मिनेट यात्रा अवधि छोट्टिएको छ ।

नागी र शालिजाको तारेका युवाले सो पदमार्ग निर्माण गरेका हुन् । पदमार्ग व्यवस्थापन समितिले ३० हजार अनुदान उपलब्ध गराएको थियो । समितिले उपलब्ध गराएको अनुदानको तुलनामा तेब्बर बढी रकम बराबरको काम भएको व्यवस्थापक पुनले बताए ।

पदमार्ग सुधार गरिएपछि पर्यटकलाई यात्रा गर्न सहज भएको छ । बाटो बिराउने समस्या हटेको छ । त्यसैगरी डाँडाकटेरी र लोप्रेका बासिन्दाले पनि पदमार्ग व्यवस्थापन समितिको सहयोगका साथै श्रमदान गरेर बाटोमा ढुंगा बिछ्याउने र मर्मत गर्ने काम गरेका छन् ।

पदमार्गको नक्सा अनुसार विभिन्न ठाउँमा सूचनापाटी राख्ने तयारी गरिएको छ । ठाउँको नाम, अवस्थित उचाइ लगायतका विवरणसहितको सूचनापाटीका साथै दोबाटोमा स्थायी संकेत बोर्ड राख्न लागिएको व्यवस्थापक पुनले जानकारी दिए ।

शालिजाको तारेका युवाले पदमार्ग अन्तर्गत पर्ने धिमेडाँडामा खाना, खाजा खाने होटल सञ्चालन गरेका छन् । पदमार्ग क्षेत्रका ४२ जना युवालाई पर्यटक गाइडसम्बन्धी तालीम समेत प्रदान गरिएको छ ।

म्याग्दीको घुमाउने तालदेखि बाँसखर्क, डाँडाकटेरी, नाँगी, हम्पाल, मोहरे डाँडा, फूलबारी, प्यारीबाराही ताल, टिकोट र खिवाङलाई समेटेर विसं २०६७ देखि समुदायको पहलमा पदमार्ग सञ्चालनमा ल्याइएको थियो ।

समुदायको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा आयश्रोत जुटाउने उद्देश्यले सञ्चालित पदमार्गको भ्रमणमा आउने पर्यटक बढ्दै गएपछि पूर्वाधार निर्माणले तीव्रता पाएको छ । पर्यटकको सुविधाका लागि बाँसखर्क, डाँडाकटेरी, टिकोट र खिवाङमा होमस्टे, नाँगी, मोहरे डाँडा र फूलबारीमा सामुदायिक लज सञ्चालन गरिएको छ ।

ग्रामीण बस्ती, मगर संस्कृति, हिमशृङ्खला, सूर्योदयको दृष्यावलोकन र गुराँसे जंगल यस पदमार्गको आकर्षण हो । सामुन्द्रिक सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा अवस्थित मोहरे डाँडा यस पदमार्गको प्रमुख गन्तव्य बनेको छ ।
रासस

प्रकाशित मिति : १३ कार्तिक २०७४, सोमबार ००:००