सिरहा, १२ कातिक । उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहालले उदयपुर, सिन्धुली, सिरहा र धनुषाको संगमस्थल चिसापानीस्थित कमला नदीमा निर्मित झोलुंगे पुलको उद्घाटन गरेका छन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार तथा कृषि सडक विभागको करिब तीन करोडको सहयोगमा बनेको उक्त पुलको लम्बाइ ४०० मि छ । पुल निर्माणपछि त्यस क्षेत्रका जनतालाई दैनिक आवजजावतका साथै बिरामीलाई तत्काल अस्पतालसम्म पु¥याउन सहज हुनेछ ।
त्यहाँका कृषकलाई आफ्नो खेतबारीमा उत्पादन भएका खाद्यान्न तथा तरकारीलाई बजारसम्म पु¥याउन सजिलो भएको छ । कमला उत्तरायण तीर्थस्थलका नामले ख्याति कमाएको त्यस क्षेत्रमा पुल निर्माणपछि धार्मिक पर्यटकको संख्या निकै बढ्ने विश्वास गरिएको छ ।
कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानको अध्यक्षतामा भएको उक्त उद्घाटन समारोहमा डोलीडारका महानिर्देशक जीवन श्रेष्ठले पुल निर्माणसम्बन्धी प्रतिवेदन पेश गरेका थिए । यसैबीच अध्यक्ष दाहालले सोही स्थान नजिकै तीस लाखको लागतमा निर्माण भएको मुक्तेश्वर शिवमन्दिरको पनि उद्घाटन गरेका छन् ।
रासस
प्रतिक्रिया