१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोला उत्खनन रोक्न स्थानीयवासीको माग




उर्लाबारी
— मोरङ, ९ कात्तिक । अव्यवस्थित खोला उत्खनन रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् । मावा नदीबाट जथाभावीरूपमा बालुवा र गिट्टी निकासीका कारण नदी कटानको जोखिम बढेकाले उत्खनन रोक्न माग गरिएको हो ।

सो खोलाबाट जथाभावीरूपमा बालुवा र गिट्टी निकासी भएपछि तटबन्धमा क्षति पुर्याएको उर्लाबारी ३ का सुरेश राउतले बताए ।

खोला नियन्त्रण समितिका सचिवसमेत रहेका राउतले यसबारे जिल्ला समन्वय समिति र स्थानीय जनप्रतिनिधिलाई जानकारी गराए पनि कुनै काम नभएको गुनासो गरे । उनले भने, “समयमै खोला उत्खननमा रोक नलगाए आगामी बर्खामा उर्लाबारीवासीले ठूलो नोक्सानी व्यहोर्नुपर्नेछ ।”

सो खोलाबाट ट्रयाक्टरले जथाभावी बालुवा झिकेर लैजाँदा खोला करिब तीन मिटरसम्म गहिरिएको छ । खोला गहिरिँदै गएकाले खोला किनारमा बनाइएका स्परसमेत भत्किन थालेका छन् ।

मोरङ र झापा जिल्लाको सीमामा रहेको सो खोलाबाट दैनिक करिब ५०० ट्रयाक्टरले बालुवा, गिट्टी निकाल्ने गर्छन् । जथाभावी खोला उत्खनन नरोकिँदा गत वर्षात्को समयमा बाढीले खोला किनारको छ सात बिगाहा जमिनका साथै स्थानीय भीमबहादुर सुवेदीको डेढ बिगाहा र गणेशबहादुर कार्कीको एक बिगाहाको सिसौको नर्सरीमा कटान गरेर क्षति पुर्याएको थियो ।

नदी उत्खननसम्बन्धी मापदण्ड कार्यान्वयन हुने गरी बालुवा निकासी गरे आफूहरूलाई कुनै समस्या नहुने स्थानीयवासी जीवन आचार्यले बताए । जिससले खोला ठेक्कामा लगाउने तर त्यसको अनुगमन नगर्ने गरेकाले वर्षात्को समयमा वर्षेनी करोडौँ क्षति हुने गरेको स्थानीयवासीको गुनासो छ ।
रासस

प्रकाशित मिति : ९ कार्तिक २०७४, बिहिबार ००:००