१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धौलागिरि हिमालको प्रतिविम्ब देखिने बराहताल संरक्षणको पर्खाइमा




धु्रबसागर शर्मा

बेनी— म्याग्दी, ९ कात्तिक ।
धौलागिरि हिमालको प्रतिविम्ब स्पष्टरुपमा देखिने पश्चिम म्याग्दीको मालिका १, निस्कोटस्थित बराहताल संरक्षणको पर्खाइमा छ । साविक निस्कोट गाविस ९ मा पर्ने तथा निस्कोट गाउँको शिरानमा रहेको बराहताल आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवर्द्धनको पर्खाइमा रहेको हो ।

करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको छ । समुद्री सतहदेखि झण्डै दुई हजार २०० मिटरको उचाइमा अवस्थित रहेको ताल र तालको आसपासबाट विभिन्न हिमशृंखला देखिन्छ । त्यहाँबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो धौलागिरि हिमालसहित गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथी लगायतका आधा दर्जन बढी मनोरम हिमशृंखलाको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । तालनजिकै एउटा तामाको घैंटो ९चिन्नो० पनि रहेको छ ।

घना वनजंगल र केही गाउँवस्तीको बीचमा रहेको तालमा वनजंगल र हिमालको प्रतिविम्ब निक्कै आकर्षक अनि मनमोहक देखिन्छ । स्थानीयका अनुसार ताल झण्डै २० मिटरभन्दा बढी गहिरो छ ।

पर्यटकीय महत्व बोकेको बराहताल संरक्षणका लागि यसअघि साविक निस्कोट गाविसले तालसम्म पुग्ने पदमार्ग, तालको सुरक्षाका लागि घेराबार निर्माण र छिमेकी बागलुङ जिल्लाको सिमाना ताराखोलाको धुरीमा पुग्न पदमार्ग निर्माण गरेको जनाएको छ ।

यसैगरी चालु आर्थिक बर्षमा निस्कोट गाउँदेखि बराहतालसम्म पुग्नका लागि पर्यटन पदमार्ग निर्माण तथा तालको संरक्षण लगायत आवश्यक कार्यक्रम गर्न पाँच लाख बजेट विनियोजन गरिएको मालिका १ निस्कोटका वडा सचिव छविलाल उपाध्यायले बताए ।

वनजंगलको बीच भागमा रहेको ताल भए पनि त्यसमा कुनै पनि पातपतिङ्गर नभएको र बिहान सबैरै दुई वटा जलहाँस जलक्रिडा गर्न आउने तालको विशेषता भएको सचिव उपाध्यायको भनाइ छ । तालको उचित संरक्षण र विकास तथा प्रचारप्रसार गर्न सकेको खण्डमा निस्कोट गाउँमा हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकसमेत भित्र्याउन सकिने प्रशस्तै सम्भावना रहेको स्थानीय बताउँछन् ।

बागलुङको ताराखोला धुरी जोडिने पर्यटन रुटमा पर्ने तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने वडा सदस्य दिलकुमार पुनले बताए । उनका अनुसार तालको विकास संग संगै निस्कोट गाउँको शिरमा भ्यु–टावरको निर्माण गर्न सकिने सम्भावना पनि रहेको छ । त्यहाँबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँको आकर्षक र मनमोहक दृश्य देखिने हुँदा भ्युटावर बनाउनुपर्ने उनको भनाइ छ ।
रासस

प्रकाशित मिति : ९ कार्तिक २०७४, बिहिबार ००:००