१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेह्रथुममा ६६ हजार ७०० मतदाता




तेह्रथुम
, २४ असोज । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट साढे ६६ हजारभन्दा बढी मतदाताले मतदान गर्ने भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका ६६ हजार ७४१ जना मतदाताले प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि मतदान गर्ने भएका हुन् ।

जिल्लामा गत असारको स्थानीय तहको निर्वाचनमा भन्दा छ हजार २० जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले दुई महिनासम्म जिल्लाभर मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम राखेको थियो ।

सो कार्यक्रममा जिल्लाका सात हजार ३९१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । तर त्यसमध्ये २०७४ भदौ ५ गतेसम्ममा १८ वर्ष पूरा भएकाले मात्रै मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् ।

असार १४ मा भएको स्थानीय निर्वाचनमा जिल्लाका ६० हजार ७०४ जनाको नाम मतदाताको सूचीमा उल्लेख थियो । निर्वाचन आयोगको कार्यतालिका अनुसार यहाँ मंसिर २१ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ । प्रतिनिधि सभातर्फ तेह्रथुममा यसवर्ष पनि सिंगो जिल्ला एउटा निर्वाचन क्षेत्रका रुपमा तोकिएको छ ।

प्रदेश सभाको निर्वाचनमा भने जिल्लामा दुईवटा निर्वाचन क्षेत्र तोकिएका छन् । प्रदेश सभाको निर्वाचनमा क्षेत्र नं १ मा म्याङ्लुङ नगरपालिका, लालीगुराँस नगरपालिका र छथर गाउँपालिका परेका छन् ।

क्षेत्र नं २ मा आठराई गाउँपालिका, फेदाप गाउँपालिका र मेन्छ्यायेम गाउँपालिका रहेका छन् । जिल्लाका ६६ हजार ७४१ जना मतदाताले प्रतिनिधि सभाको निर्वाचनका लागि मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दीपक भण्डारीले बताए ।

यस्तै, प्रदेश सभातर्फ क्षेत्र नं १ मा ३६ हजार १३४ जना र क्षेत्र नं २ मा ३० हजार ६०७ जना मतदाता रहेका छन् । त्यसमध्ये क्षेत्र नं १ मा १७ हजार ८२५ पुरुष र १८ हजार ३०९ जना महिला मतदाता छन् । क्षेत्र नं २ मा १५ हजार ७१२ जना पुरुष र १४ हजार ८९५ महिला मतदाता रहेका छन् ।

जिल्लामा जम्मा ३३ हजार ५३७ जना पुरुष र ३३ हजार २०४ जना महिला मतदाता छन् । स्थानीय तहको निर्वाचनमा जिल्लामा ५७ स्थानमा ८२ वटा मतदान केन्द्र तोकिएका थिए । स्थानीय निर्वाचनमा जिल्लाका छ स्थानीय तहमध्ये एमालेले म्याङ्लुङ नगरपालिका, छथर, फेदाप र आठराई गाउँपालिका तथा काँग्रेसले लालीगुराँस नगरपालिकामा बहुमतसहित प्रमुख र उपप्रमुख जितेको थियो ।

बाँकी मेन्छ्यायेम गाउँपालिकामा भने प्रमुख पदमा एमालेले जित निकाले पनि उपप्रमुखसहित बहुमत सिट कांग्रेसले जितेको थियो ।
रासस

प्रकाशित मिति : २४ आश्विन २०७४, मंगलबार ००:००