१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्सी गाउँपालिकामा माओवादी केन्द्र विजयी



गौशाला, ६ असोज । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार सम्सी गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका फारुक शेख र उपाध्यक्ष पदमा सोही पार्टीकी नगिनादेवी यादव विजयी भएका छन् ।

सम्सी गाउँपालिकामा माओवादी केन्द्रका फारुक शेखले दुई हजार ३४८ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका हुन् । त्यस्तै, उपाध्यक्ष पदमा सोही पार्टीकी नगिनादेवी यादव एक हजार ८८७ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत पाण्डेले बताए ।

त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी अध्यक्ष पदमा संघीय समाजवादी फोरम नेपालका रामनाथ यादव दुई हजार २४४ र उपाध्यक्ष पदमा सोही पार्टीकी सुनिता देवीले एक हजार ५५२ मत प्राप्त गरेका थिए ।

लोहारपट्टि नगरपालिकामा कांग्रेसको जित
यसैगरी, महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेस विजयी भएको छ ।

निर्वाचन अधिकृत लेखनाथ लुइँटेलका अनुसार लोहारपट्टि नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका शैलेन्द्रकुमार यादव चार हजार ५२३ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै, उपप्रमुखमा सोही पार्टीकी सरितादेवी शर्माले चार हजार ५९२ मत प्राप्त गरी विजयी भएकी छन् ।

त्यसैगरी, प्रमुख पदका प्रतिस्पर्धी राजपाका अब्दुल कवारी दुई हजार ९२९ र उपप्रमुखमा राजपाकै निशा साहले तीन हजार १०३ मत प्राप्त गरेका थिए ।

औरही नगरपालिकामा कांग्रेस र राजपा विजयी
यसैगरी, महोत्तरी जिल्लाको औरही नगरपालिकामा नेपाली कांग्रेस र राजपा विजयी भएका छन् । निर्वाचन अधिकृत रामेश्वर कुँवरका अनुसार औरही नगरपालिकाको प्रमुख पदमा कांग्रेसका सुनिलकुमार यादव विजयी भएका छन् । त्यस्तै, औरही नगरपालिकाको उपप्रमुख पदमा राजपाकी रेणु झा विजयी भएको निर्वाचन अधिकृत कुँवरले बताए ।

निर्वाचन अधिकृत कुँवरका अनुसार प्रमुख पदमा कांग्रेसका सुनिलकुमार यादवले तीन हजार १५९ मत प्राप्त गरी विजयी भएका छन् भने उपप्रमुखमा राजपाकी रेणु झाले तीन हजार २५५ मत प्राप्त गरी विजयी भएकी छन् ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वीमा प्रमुख पदमा राजपाका शंकर यादवले दुई हजार ७११ र उपप्रमुख पदमा कांग्रेसकी रेणु यादवले दुई हजार ९५९ मत प्राप्त गरेका थिए ।

बलबा नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा राजपा
यसैगरी, महोत्तरी जिल्लाको बलवा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेस र उपप्रमुख पदमा राजपा विजयी भएका छन् । निर्वाचन अधिकृत सुदीपकुमार दंगालका अनुसार बलवा नगरपालिकाको प्रमुख पदमा कांग्रेसका विनोद यादव र उपप्रमुख पदमा राजपाकी रीतादेवी झा विजयी भएका छन् ।

बलवा नगरपालिकाको प्रमुख पदमा कांग्रेसका विनोद यादवले तीन हजार ६१६ मत प्राप्त गरी विजयी भए भने उपप्रमुख पदमा राजपाकी रीतादेवी झाले तीन हजार ८३६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत दंगालले बताए ।

त्यस्तै, उनीहरुका निकटतम प्रतिद्वन्द्वीका रुपमा प्रमुख पदमा राजपाका रामविजय महतोले तीन हजार ४९६ र उपप्रमुखमा कांग्रेसकी रामदुलारी देवीले तीन हजार ६३७ मत प्राप्त गरेका छन् ।
रासस

प्रकाशित मिति : ६ आश्विन २०७४, शुक्रबार ००:००