३० फाल्गुन २०८०, बुधबार | Wed Mar 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस कार्यकर्तासंगको झडपमा राजपा कार्यकर्ताको मृत्यु




रौतहट
, ५ असोज । कटहरिया नगरपालिकामा नेपाली कांग्रेस र राजपाका कार्यकर्ताबीच भएको झडपमा एक राजपा कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको छ । कांग्रेस कार्यकर्ताको कुटाइबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुकार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए ।

बुधबार साँझ कटहरिया मतगणनास्थलबाट फर्किने क्रममा कांग्रेस कार्यकर्ता र राजपाका कार्यकर्ता बीच भोट दिए नदिएको विषयमा भनाभन भएको प्रत्यक्षदर्शीले बताएका छन् । सोही विषय लिएर राति करिब ९ बजे घर पुगेर कांग्रेसका कार्यकर्ताले आक्रमण गरेपछि राजपा कार्यकर्ता यादवको टाउकामा गम्भीर चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल गौर पठाइएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले वडा नम्बर ८ का कांग्रेस उम्मेदवार गौरीशंकर यादवका १८ वर्षीय छोरो भुटा यादव, अनुठा यादव र बैजु साहलाई गएराति उनीहरुको घरैबाट नियन्त्रणमा लिएको छ ।

वडाध्यक्षका उम्मेदवार गौरीशंकरसहित केही मानिस फरार रहेको इप्रका गरुडाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले गएराति कांग्रेस कार्यकर्ता र अर्का एकजनाबीच भोट कै विषय लिएर भएको झगडा छुट्याउन गएका रामपुकार माथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको बताए । घटनाबारे प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
रासस

प्रकाशित मिति : ५ आश्विन २०७४, बिहिबार ००:००