१३ चैत्र २०८०, मंगलबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान कार्यान्वयनसँगै महिला र दलित समुदाय उत्साही



सुशील दर्नाल

काठमाडौँ, ३१ भदौ । मुलुकमा संघीय गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पुगेको छ । लामो समयको जनताको ब्यग्र प्रतीक्षापछि जारी भएको संविधानले महिला, आदिवासी जनजाति, दलित, पिछडा वर्गलगायत सदियौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गरेको छ ।

यो दुई वर्षमा संविधानमा लिपिबद्ध भएका अधिकार कार्यान्वयनले गति लिएको छ । संविधानमा व्यवस्था भएअनुसार नै मुलुकले पहिलो महिला राष्ट्रपति र पहिलो महिला सभामुख पाएको छ । सरकारमा महिलाको सहभागिता बढेको छ ।

संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको निर्वाचनमा महिला, दलित तथा अन्य उत्पीडित समुदायबाट पनि महानगरपालिका प्रमुख, नगरपालिका प्रमुख, गाउँपालिकाको अध्यक्ष, वडाध्यक्ष र सदस्य बनेका छन् । त्यसैगरी अंशमा महिलाको समान अधिकार, बोक्सी प्रथा, छाउपडी, बहुविवाह नियन्त्रणसम्बन्धी कानून निर्माण प्रक्रिया अगाडि बढेको छ । संविधानको धारा ३८ मा महिलाको हक उल्लेख गरिएको छ ।

संविधानको धारा ३८ महिलाको हकमा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ । त्यसैगरी संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

एमाले नेतृ विन्दा पाण्डेले महिलाको सवालमा संविधानले परिकल्पना गरेको अधिकार क्रमिक रूपमा कार्यान्वयन हुँदै जानु खुशीको कुरा भएको बताइन् । निर्वाचनसम्बन्धी कानूनमा स्थानीय तहमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकामा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरेको छ ।

त्यसैगरी प्रत्येक वडा सदस्यमा एक जना महिला र एक जना दलित महिला अनिवार्य हुनुपर्ने व्यवस्था निर्वाचन कानूनमा व्यवस्था गरिएको छ । “पहिलेको तुलनामा नयाँ संविधानले महिलाका धेरै अधिकार सुनिश्चित गरेको छ,” नेपाली कांग्रेसकी नेतृ उमा रेग्मीले भन्छिन्, “स्थानीय तहमा महिलाको अनिवार्य सहभागिताले महिला उत्साही त छन्, तर अधिकारका लागि अझै संघर्ष गर्नुपर्छ ।”

त्यसैगरी संविधानमा व्यवस्था भएअनुसार राष्ट्रिय दलित आयोग र महिला आयोगलाई संवैधानिक बनाउने प्रक्रिया अगाडि बढेको छ । संविधानमा राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग गठन गर्ने व्यवस्था गरिएको छ ।

दलित अधिकारकर्मी गणेश विकेले नयाँ संविधान आएपछि समग्रमा दलित समुदायको राज्यका हरेक संरचनामा सहभागिता बढ्दै गएको बताए । संविधानको धारा २४ मा छुवाछूत तथा भेद्भावविरुद्धको हक र धारा ४० मा दलितको हक उल्लेख गरिएको छ ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा दलित उपमहानगरपालिकाको प्रमुख, नगरपालिकाको प्रमुख गाउँपालिकाको अध्यक्ष र सदस्यमा निर्वाचित भएका छन् । माओवादी केन्द्रका नेतृ तथा तथा सांसद अनिता परियारले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि महिला एकीकृत भएर संघर्ष गर्नुपर्नेमा जोड दिइन् ।

दलित महिला अधिकारकर्मी गौरा नेपालीले प्रत्येक वडामा एक जना दलित महिला अनिवार्य हुनुपर्ने कानूनी व्यवस्थाले दलित महिलामा जागरुकता ल्याएको बताइन् । तत्कालीन राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधान २०७२ लाई २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको घोषणा गरेका थिए । रासस

प्रकाशित मिति : ३१ भाद्र २०७४, शनिबार ००:००