११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मातृशिशुका लागी जिवन सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेका छौँ



ओमनारायण देवकोटा

सरावल गाउँपालिका उत्तरमा चुरेदेखि दक्षिणमा भारतको सीमासम्म फैलिएको छ । त्यसैले यहाँ तीन किसिमको समुदाय छन् । उत्तरी क्षेत्रमा पहाडी समुदायका खास आर्य, बीचमा थारु र दक्षिणमा मधेसी समुदायको बसोबास छ । यी समुदायहरू बीचमा शिक्षा, स्वास्थ्य, दैनिक जिवनयापनको अवस्था फरक छ ।

त्यसैले यहाँ मातृशिशु स्वास्थ्यको अवस्था पनि समुदायअनुसार फरक छ । उत्तरी भेगको तुलनामा दक्षिणी भेगमा मातृशिशु स्वास्थ्यको अवस्था केही कमजोर छ । खासगरि स्वास्थ्य सचेतनाको कमी छ । नियमित गर्भ जाँच, होम डेलीभरी, बच्चा दिनुपर्ने नियमित खोप, सरसफाई, खानपानजस्ता बिषयमा दक्षिणी भेगमा सचेतनाको कमी देखिन्छ ।

गाउँपालिकाले ल्याब सेवा दिइरहेको छ । साथै बर्थिङ सेन्टर सञ्चालन गरिरहेको छ । संघीय सरकारले गर्भवतीलाई आइरन चक्की निशुल्क दिइरहेको छ । गाउँपालिकाले पनि क्याल्सियम निशुल्क बितरण गर्दै आएको छ ।

गाउँपालिकाले बालबालिकालाई कुपोषण भत्ता दिइरहेको छ । यसैगरि नागरिक सचेतनाको काम पनि गरिरहेका छौँ । पहिलाको तुलनामा मातृशिशु स्वास्थ्य र पोषणमा धेरै सुधार आएको छ । तर जत्ति सुधार हुनु पर्ने हो, त्यत्तिचाँही हुन सकिरहेको छैन ।

बार्षिक १० लाख रुपैयाँभन्दा माथी नै खर्च गर्दै आएका छौँ । ४ लाख रुपैयाँजत्ति क्याल्सियमका लागी खर्च हुन्छ । यही बर्षदेखि गर्भवतीहरूको जिवन सुरक्षा कार्यक्रम लागू भएको छ । बच्चा गर्भमा रहेदेखि जन्मिने बेलासम्म दिनु पर्ने सबै सेवा सञ्चालन गरिरहेका छौँ । स्वास्थ्यकर्मीहरू खटाएर तीन वटा समुहमा कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।

बर्थिङ सेन्टरसहित स्वास्थ्य सँस्था ७ वटा छन् । आर्युवेद सँस्था एक वटा छ । गाउँपालिकाको पहलमा नागरिक आरोग्य केन्द्र पनि सञ्चालन भइरहेको छ । ४ नं. वडामा स्वास्थ्य सँस्था थिएन । त्यहाँ पनि सामाजिक स्वास्थ्य इकाई स्थापना गरेर स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ । इकाईमा ४ जना स्वास्थ्यकर्मी काजमा खटाएर भए पनि सेवा सञ्चान गरिरहेका छौँ ।

नियमित गर्भ जाँच गर्ने, बर्थिङ सेन्टरमा बच्चा जन्माउने काम वडा नं. २ मा शत प्रतिशत पुग्यो । वडा नं. १ मा पनि शत प्रतिशत पुग्नै लागेको छ । ३ नं. मा पनि अवस्था राम्रो हुँदै गएको छ । दक्षिणी भेगको ४ र ५ न.. वडामा प्रगति सुस्त छ ।

सम्बन्धित समुदायको जनप्रतिनिधी, शिक्षक, सामाजिक अगुवा अग्रसर गराउने तयारी गरिरहेका छौँ । गाउँपालिकाले कार्ययोजना पनि बनाउँदै छौँ । कतिपय परिस्थितिजन्य बाध्यता छ । गाउँपालिकाको ६ नं. वडा डुवान क्षेत्रमा पर्छ ।

यसपाली पनि ढुङ्गाबाट स्वास्थ्यकर्मी गएर स्वास्थ्य सेवा प्रदान गरेका थियौँ । कतिपय बस्तीमा चेतना अभाव छ । जत्ति सम्झई बुझाई गरे पनि चेतना नहुँदा समस्या हुँदो रहेछ । पूर्वाधार विकाससँगै जनचेतनाको विकास पनि सँगै चाहिँदो रहेछ । मातृशिशुको जिवन सुरक्षा कार्यक्रम लागू भए पछि जनचेतनामा प्रगति हुनेछ भन्ने विश्वास छ ।

मान्छेले बुझ्दै आएको ज्ञान परिर्वतन गर्न सजिलो रहेछ । र चलि आएको व्यवहार परिर्वन गर्न अलि गाह्रो हुँदो रहेछ ।अहिले खान नपाएर भन्दा पनि खान नजानेर मान्छे रोगी हुन्छ । अहिले मान्छे बजारको प्रभावमा छन् । जंकफूडको प्रभावमा छन् ।

नेपाल सरकारले बेच्न अनुमति दिएको सामान हाम्रो बजारमा छ । त्यो सामान उपभोग गर्ने नागरिकलाई रोक्न सकिँदैन । म्याद गएको सामान बेच्ने, रोक्ने वा छेक्नेभन्दा पनि यो सामान प्रयोग नगरौँ भन्नेसम्म हाम्रो प्रयत्न हो ।

मातृशिशु स्वास्थ्यमा आपतकालीन उद्दारका लागी गाउँपालिकामा एउटा एम्बुलेन्स छ । जनस्वास्थ्यकर्मीहरू छन् । सकेसम्म बर्थिङ सेन्टरमै बच्चा जन्माउने कोशिस गछौँ । यदी घरमै जन्माउने रहेछ भने पनि घरमै सेवा पु¥याउँछौँ ।

यहाँसहित अरू ठाउँमा पनि पालिका, विभिन्न संघसँस्थाले सुत्केरीलाई अण्डा बाँड्ने, कुखुरा र हाँसका चल्ला बाड्ने, फलफूलका बीउबिजन बाँड्दै आएका छन् । तर अधिकांश ठाउँमा यसको प्रभावकारी मूल्यांकन हुन सकिरहेको छैन ।

समय परिर्वतन भएको छ । पहिला खेती किसानी मात्रै गर्थे । हाँस र कुखुराका चल्लाहरू हुर्काएर मासु खान्थे । तर अहिले समग्र समाजको अवस्था फेरिएको छ । अहिले हाँस कुखुराको चल्ला कसले हुर्काउने ? बीउबिजन खेती कसले गर्ने ?

अहिले प्रतिस्पर्धाको जमाना छ । बजारमा सानो पसल राखेर वा सफारी चलाएर पैसा कमाइन्छ भने चल्ला हेरेर बस्दैन । त्यसमाथी पहिले संयुक्त परिवार हुन्थे । घरमा बस्ने बुढाबुढीले कुखुरा बाख्रा हेर्ने, करेशाबारी स्यहार्ने काम गर्थे । अहिले जताततै एकल परिवार छन् ।

जहाँसम्म स्वास्थ्यकर्मीहरूको दक्षता अभिबृद्धिको सवाल छ, कहिलेकाँही यो आवश्यक हुन्छ । कहिलेकाँही अपर्याप्त भएको अनुभव हुन्छ । जस्तो, पहिले ४ पटक गर्भजाँच भन्ने हुन्थ्यो ।

अहिले ८ पटक गर्नुपर्छ भन्ने अवधारणा आइसक्यो । त्यसमाथी चेकजाँच गर्ने तरिकाहरूमा पनि परिर्वतन आउँछ । नलेज (ज्ञान) अपडेट हुनु पर्ने त्यस्तो बेलाचाँही हामीलाई तालिमहरू चाहिन्छ ।

त्यस्तै नीतिहरू परिर्वतन हुँदा काम गर्ने शैली नै फेर्नुपर्ने हुन सक्छ । थप पूर्वाधार चाहिन सक्छ, त्यसबेला सरकारको सहयोग चाहिन्छ ।

देवकोटा सरावल गाउँपालिकाका जनस्वास्थ्य शाखा प्रमुख हुन् । यो लेख कुराकानीका आधारमा तयार पारिएको हो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार ००:००