३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा मनलाग्दी कर्मचारी भर्तिः प्रशासनिक खर्चको अवस्था बिकराल

‘राष्ट्रिय मापदण्ड नबने संघीयताले धान्दैन’



काठमाडौं । विहीबार एक कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले स्थानीय तहमा आवश्यकता भन्दा बढी कर्मचारी नियुक्त भएको बताए । गाउँपालिका राष्ट्रिय महासंघले आयोजना गरेको कार्यक्रममा पौडेलले अनावश्यक कर्मचारी भर्तिकै कारण स्थानीय तहमा प्रशासनिक खर्च बढेर धान्न मुस्किल हुँदै गएको बताए ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन हेर्ने हो भने आयोगका अध्यक्ष पौडेलको धारणा पुष्टी हुन्छ । लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक बर्ष ०७९/८० मा ४ सय २४ स्थानीय तहले करारका कर्मचारीका लागी ६ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका थिए । यसैगरि दरबन्दी नै नभएको र दरबन्दीभन्दा बढी कर्मचारी नियुक्त गरि २ सय २९ स्थानीय तहले १ अर्ब ५३ करोड रुपैयाँ खर्च गरेका छन् ।

यसैगरि १ सय ४९ पालिकाले अनुदानको ८६ करोड ११ लाख रुपैयाँ कर्मचारी कर्मचारी कल्याण कोषमा जम्मा गरेका छन् । अनुदानबाट प्राप्त रकम यसरी खर्च गर्नु नियमविपरित हो । यसैगरि २ सय २८ स्थानीय तहले कानूनी आधार र आन्तरिक आयको बिश्लेषण नगरि प्रोत्सहान भत्तावापत ९५ करोड ८३ लाख खर्च गरेका छन् ।

“स्थानीय तहमा भर्ना हुने कर्मचारीका लागी राष्ट्रिय मापदण्ड बनाएर कार्यान्वयन गर्नु पर्छ । स्थानीय वा प्रादेशिक मापदण्ड अव्यवहारिक हुन्छ,” पौडेलले भने, “स्थानीय मापदण्ड ७ सय ५३ र प्रादेशिक मापदण्ड ७ वटा हुन पुग्छ । त्यसैले राष्ट्रिय मापदण्ड बनाएर प्रशासनिक खर्चलाई मीतव्ययी बनाउनु पर्छ ।”

संघीय निजामति ऐनमार्फत स्थानीय तह र प्रदेशमा भर्ति हुने कर्मचारीको मापदण्ड बनाउनु पर्ने पौडेलले बताए । संघीय निजामति ऐन हाल संसदमा बिचराधीन अवस्थामा छ ।

”सबैभन्दा पहिला संघीय नीजामति ऐन जारी भएर त्यसले व्यवस्था गरेको राष्ट्रिय मापदण्ड अनुसार कर्मचारी भर्ना गर्नु पर्दथ्यो । तर संविधान जारी भएर एक दशक पुग्न लाग्दा पनि ऐन जारी भएन,” पौडेलले भने, “तीन वटै तहमा दुई वटा आवधिक निर्वाचन सम्पन्न भइसक्यो । ऐन जारी नहुँदा कर्मचारी भर्ना सम्बन्धि प्रक्रिया अस्तव्यवस्त बन्यो ।”

महासंघकी अध्यक्ष लक्ष्मी पाण्डेले पनि राष्ट्रिय मापदण्ड बनेमा स्वीकार्ने बताइन् । “चाँडो संघीय नीजामति ऐन जारी हुनु पर्छ भनेर पहिल्यैदेखि माग गरिरहेका छौँ । अब धेरै ढीलो भइसक्यो,” पाण्डेले भनिन्, “ऐन जारी भएर त्यसले राष्ट्रिय मापदण्ड बनाउँछ भने कार्यान्वयन गर्न हामी तयार छौँ ।”

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार ००:००