लक्ष्मी गारु, भक्तपुर ।
ऐतिहासिक महत्व बोकेका भक्तपुरको रानीपोखरी संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । मल्लकालमा पोखरीको देशले समेत परिचित भक्तपुरको प्राचीन ऐतिहासिक महत्व बोकेका पुतली बगैँचासहितको रानीपोखरीको संरक्षण नहुँदा सो पोखरीको अस्तित्व संकटमा परेको हो ।
भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हाताभित्र रहेको सो रानीपोखरी संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । विसं २०४० मा सैन्य तालिम केन्द्रका लागि सरकारले पोखरी आसपासका सार्वजनिक र सर्वसाधारणको जग्गासमेत नियन्त्रणमा लिएका थिए । पछि सो स्थानमा सेनाले विद्यालय सञ्चालन गरेका छन् । सर्वसाधारणलाई प्रवेश गर्न बन्देज लगाएपछि अहिले रानीपोखरी आम मानिसको मानसपटलबाट समेत हराउन थालेको छ ।
पुतली बगैँचासहित करिब ३२ रोपनी क्षेत्रफलमा फैलिएको भक्तपुरको रानीपोखरी अहिले पूर्णरुपमा झाडीमा परिणत भएको छ । पोखरीको बीच भागमा केही मात्रामा पानी देखिए पनि अन्य सबै भाग झारपातले छोपिएको छ । पोखरीको चारैतिर रहेका डिलमा समेत झार उम्रिएपछि यसको सुन्दरता नै लोप भएको छ ।
पोखरीको चारैतिर रहेको विभिन्न कलात्मक मूर्तिसमेत लोप भएका छन् भने पोखरीलाई थप सुन्दर बनाउन निर्माण भएका कलात्मक पाटीपौवासमेत जीर्णअवस्था रहेका छन् ।
नेपाल संवत् ७५० अर्थात् विसं १६८७ मा मल्ल राजा जगज्योति मल्लले सो रानीपोखरीको निर्माण गरेका थिए । रानीपोखरीको दक्षिणपट्टिस्थित ह्वाङ्ह्वाङ पाटीमा रहेको शिलालेखअनुसार सो पोखरीको नामाकरण पुष्करणी भनी उल्लेख गरिएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए ।
तत्कालीन बोलीचालीमा न्हू पुखुः अर्थात् नयाँ पोखरीसमेत भनिने सो पोखरीलाई राजा जगज्योति मल्लले आफ्नो रानीलाई समर्पण गरेपछि त्यसलाई रानीपोखरी भन्न थालेको इतिहास रहेको प्रा डा श्रेष्ठले बताए । पोखरीको बीचमा सुनको टाउको भएको नागको मूर्ति रहेको र चारैतिर विभिन्न कलात्मक मूर्तिहरुले घेरिएको इतिहासमा उल्लेख भएको पाइन्छ ।
रानीपोखरीको निर्माण चार महिनामा सम्पन्न भएको इतिहास छ । ह्वाङ्ह्वाङ पाटीमा रहेको शिलालेखमा रानीपोखरीको निर्माण पौष कृष्ण एकादशीका दिनमा आरम्भ भएर वैशाख कृष्ण द्वादशीका दिनमा सम्पन्न भएको उल्लेख गरिएको पाइएको प्रा डा श्रेष्ठले बताए ।
रानीपोखरीलाई तीन तहमा विभाजन गरेर निर्माण गरिएको पाइन्छ । पोखरीको गहिराइतिरको पहिलो तह पानी भरिने, दोस्रो तहको चारैतिर विभिन्न कलात्मक मूर्तिहरु दिगु द्यो (कुल देवता) रहेका छन् । तेस्रो तहमा पोखरी घुम्न मिल्नेगरी बाटो बनाई छेउछेउमा रुख र चारदिशामा चारवटा पाटी निर्माण भएको पाइन्छ ।
भक्तपुरको रानीपोखरी र आसपासको क्षेत्र परापूर्वकालदेखि सर्वसाधारणको धार्मिक आस्थाको केन्द्रविन्दुका रुपमा समेत रहेको छ । विशेषगरी भक्तपुरका प्रजापति जातिका साथै जोन्छे, धौभडेल, अवाल, मानन्धरलगायतका समुदायहरुको दिगु द्यों (कुलदेवता) पूजा गरी देवाली मनाउने स्थानसमेत रानीपोखरी क्षेत्र हो ।
रानीपोखरी मल्लकालीन समयमा बाहिरबाट आएका पाहुनाका लागि नगर प्रवेश गराउन स्वागत गर्ने थलोका रुपमा समेत विकास भएको पाइन्छ । भक्तपुरको पश्चिम भेगबाट भक्तपुर आवतजावत गर्ने मुख्य मार्गका रुपमा समेत रहेकाले रानीपोखरीलाई तत्कालीन भक्तपुरका मल्ल राजाले उपत्यकाका अन्य राजाहरुलाई स्वागत गर्ने र बिदाइ गर्ने साँस्कृतिक थलोका रुपमा समेत विकास गरेको प्रा डा श्रेष्ठले जानकारी दिए ।
भक्तपुरको पश्चिम दिशामा ठूल्ठूला पोखरी भएकाले शहरको शोभा बढाउने अभिप्रायले पनि सो पोखरीको निर्माण भएको श्रेष्ठको भनाइ छ । त्यसैगरी आफ्ना प्रजाहरुको कुल्यान रहेको र वर्षको एकचोटी कुल पूजाको अवसरमा धार्मिक, सांस्कृतिक र पूजा अनुष्ठानजस्ता कार्यहरु सजिलै सम्पन्न होस् भन्ने उद्देश्यले पनि रानीपोखरीको निर्माण गरिएको उनले बताए ।
मल्लकालमा उपत्यकाका राजाहरुबीच हरेक विषयमा तीव्र प्रतिस्पर्धा हुने र सोको कारण बाहिरबाट आएका पाहुनालाई सिधै नगरमा प्रवेश गर्ने अधिकार नभएकाले रानीपोखरीमा रहेको ह्वाङ्ह्वाङ पाटीमा एकरात बास बसेपछि मात्र भक्तपुर प्रवेश पाउने गरेको इतिहासमा उल्लेख भएको पाइन्छ ।
पोखरी निर्माण भएपछि विसं १७३५ मा जितामित्र मल्लले पहिलोपटक पोखरीको जीर्णोद्धार गरेर मल्लकालीन सभ्यतालाई अझ झल्काउने हेतुले वास्तुशैली, देवीदेवता, नागनागिनी लगायतका मूर्ति स्थापना गरी रानीपोखरीलाई थप अनुपम र नमूना पोखरीका रुपमा विकास गरेको ह्वाङ्ह्वाङ पाटीमा रहेको शिलालेखले समेत यसलाई प्रमाणित गरेको प्रा डा श्रेष्ठले बताए ।
भक्तपुरका पोखरीमध्ये अनुपम नमूनाको पोखरीका रुपमा समेत परिचित भएकै कारणले होला काठमाडौँका राजा प्रताप मल्लले भक्तपुरमा आक्रमण गरेर जित्न नसकेपछि पोखरीमा रहेको सुनको नागलगायत पोखरी वरिपरिका अनुपम कलाकृतिसमेत चोरेर लगेर काठमाडौँको हनुमानढोका दरबारमा सजाएको इतिहासमा उल्लेख भएको पाइएको प्रा डा श्रेष्ठले बताए ।
ऐतिहासिक महत्वको यस पोखरीमा बासुकी नागको टाउको रहेको र जीउ सिद्धपोखरीमा र पुच्छर नःपुखुमा रहेको भन्ने जनश्रुति रहेको छ । त्यसैले ती तीनवटा पोखरीलाई स्थानीय बासिन्दाले तीन दिदीबहिनीका रुपमा समेत लिने गरेको पाइन्छ ।
सर्वसाधारणका लागि खुल्ला गरिदिए स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको थलो बन्न सक्ने रानीपोखरीको दयनीय अवस्थाले भक्तपुरको गरिमालाई नै आघात पुगेको प्रा डा श्रेष्ठको भनाई छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वसंग गाँसिएको यस पोखरीको जीर्णोद्धार गर्ने र पूर्खाको सम्पदा संरक्षणका लागि कतैबाट पनि पहल नहुनुमा प्रा डा श्रेष्ठले दुःखसमेत व्यक्त गरे ।
भक्तपुर नगरपालिका सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठले पोखरीको विषयमा आफूलाई केही जानकारी नभएको बताए । उनले रानीपोखरीको विषयमा नगरपालिकाको प्रमुख वा कार्यकारी अधिकृत तहमा सोधपुछ गर्न आग्रह गर्दै रानीपोखरीको संरक्षणका लागि यसवर्ष कुनै कार्यक्रम नभएको जानकारी दिए । रानीपोखरी हाल सैनिक क्षेत्रमा परेकाले सेनाले नै पोखरी संरक्षणको जिम्मा लिनुपर्ने उनले बताए ।
पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह तथा संरक्षण कार्यालयका इञ्जिनियर मोहनकृष्ण श्रेष्ठले भूकम्पले भत्केका सम्पदाको पुनःनिर्माण कार्यमै व्यस्त भएकाले पोखरीको संरक्षणतिर ध्यान केन्द्रित गर्न नसकेको स्वीकार गरे । रानीपोखरीको मर्मत गर्न यसपालि बजेट नपरेको जानकारी दिँदै आगामी आर्थिक बर्षमा पोखरी मर्मतका लागि विभागमा बजेट माग गर्ने बताए ।
यसैबीच रानीपोखरीको मर्मत तथा संरक्षणका लागि स्थानीयवासीले तदारुकता देखाएका छन् । उनीहरुले मर्मत तथा सरसफाइ समिति गठन गरी रानीपोखरीको संरक्षणको पहल गरेका छन् । विशेषगरी भक्तपुर नगरको टौमढीदेखी माथिल्लो टोलका प्रजापतिहरुले आफ्नो कुल देवता रहेको र वर्षको एकपटक देवाली पूजा गर्नुपर्ने स्थान दिनप्रतिदिन झाडीमा परिणत हुँदै गएपछि गत वैशाखमा पोखरीको वरिपरिको डिलमा सरसफाइ गर्नुका साथै बोरामा माटो भरेर डिलको मर्मत गरेको समितिका अध्यक्ष श्याम प्रजापतिले बताए ।
प्रजापतिले पोखरीको संरक्षणका लागि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई समेत जानकारी गराइसकेको बताउँदै उनले पुरातत्वमा समेत यसको संरक्षणको लागि पहल भइरहेको बताए ।
समितिका उपाध्यक्ष अमर प्रजापतिले पोखरीको उत्तर दक्षिण मोहडाको डिल पूरै भत्किएर देवाली पूजा गर्नसमेत अप्ठ्यारो हुने भएपछि प्रजापति समुदायले आवश्यक रकम संकलन गरी पोखरीको डिल मर्मत गरेको बताए । उनले मर्मतका क्रममा सो स्थानमा विसं १९७५ देखि २००६ सालसम्मको इँटा फेला परेको जानकारीसमेत दिए ।
रासस
प्रतिक्रिया