दुनै— डोल्पा, ३० भदौ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका वडाध्यक्षले नगरको कार्यालय त्रिपुराकोट बगरमा ज्ञापनपत्र बुझाएका छन् ।
नगरपालिकाले वडाध्यक्षको अधिकार आफैँमा निहित गरेर वडाध्यक्षको अधिकारलाई ठाडो हस्तक्षेप गरेको, गत २८ भदौमा भएको बजेट विनियोजनमा पनि प्रत्येक वडामा समानुपातिक ढंगबाट बजेट विनियोजन नभएको, नगरसभाबाट पास नभएर अवैधानिक हिसाबमा बाहिरबाट आएका योजनालाई समेत प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको लगायतका मागप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको त्रिपुरासुन्दरी नगरपालिका १ का वडाध्यक्ष कर्मसिंह थापाले जानकारी दिए ।
नगर विकास बजेट प्रत्येक वडामा नपठाएर वडाध्यक्षलाई औचित्यहीन बनाएको समेत अध्यक्ष थापाको भनाइ छ । शीघ्र हाम्रा मागमा छलफल नगरिए नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका छ जना वडाध्यक्षले नगरका कुनै पनि छलफलमा भाग नलिने उनले बताए ।
त्रिपुरासुन्दरी नगरपालिकामा ११ वडा रहेका छन् । यसमा प्रमुख, उपप्रमुख नगरपार्षद्सहित पाँच वडाध्यक्ष नेकपा एमालेका रहेका छन् ।
रासस
प्रतिक्रिया