४ कार्तिक २०८१, आइतबार | Mon Oct 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीमा झण्डा प्रदर्शनमा होडबाजी




सप्तरी
, २७ भदौ । आ–आफ्नो पार्टीको झण्डा प्रदर्शन गर्न जिल्लामा होडबाजी नै चलेको छ । दलहरुले एउटै घर, पसल, विद्यालय, धार्मिकस्थल र विद्युत् तथा टेलिफोनका पोलमा दर्जनौँ झण्डा राखिदिएका छन् ।

एउटा दलले राखेको ठाउँमा अर्को दलले पनि झण्डा राखिदिने गरेका छन् । यतिमात्र होइन एउटै गाडीमा समेत फरक–फरक दलको झण्डा फहराइरहेको दृश्यसमेत देखिन थालेको छ । चुनावी सभा र घरदैलोमा समेत स्थानीय नेता र कार्यकर्ताले झण्डाको प्रयोग अत्यधिक मात्रामा गरेको देखिन्छ ।

एउटा दलले झण्डा राखेपछि अर्को दलले पनि झुण्ड्याइदिने गरेका छन्, स्थानीय सिटी रिक्सा सञ्चालक विष्णुदेव यादवले भने, “के गर्ने एउटाले राखेपछि अर्कोलाई रोक्न गाह्रो भएको छ ।” उनको गाडीमा तीन पार्टीको झण्डा झुण्ड्याइएको छ । स्थानीय शम्भु साहले भने, “सबै उम्मेदवार चिनेका व्यक्ति हुन्, रोक्यो भने सदाका लागि दुश्मनी हुन्छ, त्यसैले कसैलाई नाई भन्न सकिएन ।”

यता स्थानीय तहको निर्वाचन नजिकिएसंगै जिल्लामा झण्डाको कारोबार ह्वात्तै बढेको छ । झण्डा प्रदर्शन गर्ने दलहरुबीच होडबाजी नै चलेपछि कपडा व्यवसायी, प्रेस व्यवसायी, टेलर्स व्यवसायी र पेन्टरलाई भ्याइनभ्याई भएको छ ।

स्थानीय पेन्टर नरेन्द्र चौधरीले अहिलेसम्म विभिन्न दलका १५ हजार झण्डा छापिएर गाउँ र नगरमा गइसकेको र अझ १५ हजारको माग आएकाले राति अबेरसम्म काम गर्नुपरेको सुनाए । यस्तै, परियार टेलर्सका सञ्चालक राजु परियारले विभिन्न पार्टीको गरी हालसम्म १६ हजार झण्डा सिलाइ गरिसकेको र अझ १० हजारको माग आएको बताए ।

समयमै झण्डा दिनुपर्ने भएकाले अहिले परिवारका सबै सदस्य झण्डा सिलाइमै खटेका छौँ, उनले भने, “यस्तो सधैँ भइदिए त हाम्रो कल्याणै भइहाल्थ्यो ।”

झण्डामात्रै होइन, चुनाव नजिकिएसंगै विभिन्न दलको चुनाव चिन्ह अंकित टिसर्ट, टोपी, पर्चा, पम्प्लेट नमूना मतपत्र, अपिलपत्र, घोषणापत्र छपाइसम्बन्धी कारोबार पनि ह्वात्तै बढेको छ । यस्तै कार्यकर्ताका लागि नास्ता र खानाको जोहो गर्नु पर्दा चिया पसले र होटल व्यवसाय पनि निकै फस्टाएको छ ।
रासस

प्रकाशित मिति : २७ भाद्र २०७४, मंगलबार ००:००