११ चैत्र २०८०, आइतबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराको विकास एकद्वार प्रणालीमा लैजान्छुः जिसस प्रमुख




बाजुरा
, १३ भदौ । बाजुराको समग्र विकासका लागि एकद्वार प्रणालीबाट अगाडि बढ्ने जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकायाले बताएका छन् । आइतबार आयोजित आपसी समन्वयात्मक तथा परिचयात्मक कार्यक्रममा उनले जिल्लाको विकासका लागि कुनै बाधा नपुर्याउने बताए ।

जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखसंग जिल्ला समन्वय समितिका पदाधिकारीको चयन भएपछि परिचयात्मक तथा स्थानीय तहमा रहेका गाउँपालिका र नगरपालिकामा समन्वयात्मक कार्य गर्नका लागि आयोजित कार्यक्रममा प्रमुख रोकायाले सडक शिक्षालगायतका क्षेत्रमा एकद्वार प्रणालीको नीति अपनाएर लैजानेमा प्रतिबद्धता जनाएका हुन् ।

जिल्लाको विकासका लागि गरिने निर्णयलाई राजनीतिक दलको सुझाव सल्लाहलाई मध्यनजर गर्दै जाने प्रमुख रोकायाको भनाइ रहेको छ । विकास कार्यका लागि निर्णय गर्दा कुनै बाधा अड्चन नगर्न राजनितिक दलहरुलाई प्रमुख रोकायाले आग्रह गरेका छन् ।

जिल्लामा हुने विकास निर्माण कार्य र अन्य संघसंस्थाले गर्ने काममा बफादार भएर लाग्नेमा जोड दिए । अबको युग भनेको उपलब्धिमूलक भएकाले कामभन्दा उपलब्धि देखाउन सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखसंग आग्रह गरे ।

कार्यक्रम लिएर कुनै उपलब्धि नभए त्यसको कुनै औचित्य नहुने उनले बताए । आयोजित कार्यक्रममा प्रमुखले मात्र गर्न खोजेर केही नहुने हुदा विकासमा सबैले जिम्मेवार हुनुपर्नेमा जोड दिए । समन्वयात्मक कार्यक्रममा बडीमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले जिल्लाको र नगर तथा गाउँपालिकाको नीति नियम सबैले पालना गरे विकासमा कुनै समस्या नहुने बताए ।

आफूले नगरको विकासका लागि सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने उनले बताए । नेकपा एमालेका उपसचिव गगन रावलले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन भएकाले नवनिर्वाचित पदाधिकारीले जनतामुखी काम गर्न आग्रह गरेका छन् । उनले जिल्ला, गाउँपालिका र नगरपालिकामा कृषि क्षेत्रलाई बढी प्राथमिकतामा राख्नुपर्ने बताए ।

रावलले स्थानीय तह सञ्चालनका लागि स्पष्ट खाका नभएकाले काम गर्न त्यति सहज नभएपनि विकास देखिने गरी काम हुनुपर्नेमा जोड दिए । जिल्लाको विकासमा सबैले एक भएर जानुपर्ने रावलको भनाइ छ । अबको प्रदेश तथा संघीय चुनाव तोकिएको समयमा हुनुपर्ने माग समेत उनले गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जिल्लाका ९ वटै स्थानीय तहका शान्ति सुरक्षा कायम गर्न कटिबद्ध भएर लाग्ने बताए । जिल्लाको विकासमा कुनै बाधा आउन नदिन सुशासन कायम गर्न कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

आपसी समन्वयात्मक तथा परिचयात्मक कार्यक्रममा नवनिर्वाचित पदाधिकारी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा पत्रकारको सहभागिता रहेको थियो ।
रासस

प्रकाशित मिति : १३ भाद्र २०७४, मंगलबार ००:००