१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकालाई खरका छाना मुक्त बनाउन अनुदान दिइने




पाल्पा
, ११ भदौ । खरका छाना भएका घरलाई गाउँपालिकाले अनुदान दिने भएको छ । पुरानो शैलीमा निर्माण गरिएका खरका छानाका घर बर्सेनि छाना छाउनुपर्ने झन्झट रहेकाले खरको छाना विस्थापन गर्ने लक्ष्यका साथ पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले अनुदानको व्यवस्था गरेको हो ।

प्रतिघर १५ हजारका दरले खरका छाना विस्थापन गर्न सहयोग पुगोस् भन्ने हेतुले गाउँपालिकाले अनुदान दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । यस आर्थिक बर्षमा प्रत्येक वडाका २५ वटा खरको छाना भएका घरलाई १५ हजारका दरले २०० घरलाई अनुदानको व्यवस्था गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।

गरिबी निवारण कार्यक्रमअन्तर्गत आगामी पाँच वर्षभित्र खरका छाना विस्थापन हुने योजना गाउँपालिकाले लिएको छ । गरिब र निमुखा परिवारले वर्षेनी खरको छाना लगाउन आर्थिकरुपमा समस्या हुने र घरमा पानी पनि चुहिने समस्या रहेको छ । रैनादेवी छहरा गाउँपालिकाभित्रका प्रत्येक वडालाई खरको छाना मुक्त घर बनाउने लक्ष्यका साथ यो अभियान सञ्चालनमा ल्याएको अध्यक्ष कार्कीले बताए ।

आर्थिकरुपमा पछाडि परेका विपन्न, गरिब, दलित समुदाय गाउँपालिकाले खरका छाना विस्थापन गर्न गाउँपालिकाको अनुदान पाउने भएपछि खुशी छन् । पछिल्ला वर्ष खरको छाना हाल्न कामदार, खर चोया, काठको समेत वर्षेनी अभाव बढेको छ ।

ढुंगा माटाका भित्ता, तलामा माटो र छाना खरको हुने भएकाले गर्मी र जाडोमा असर नगर्ने बसोबासलाई अति उत्तम रहे पनि खर्चको हिसाबले महँगो र आगोबाट सधैँ जोखिममा रहेको स्थानीय बासिन्दा पोषण रानाले बताए ।
रासस

प्रकाशित मिति : ११ भाद्र २०७४, आइतबार ००:००