४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संखुवासभामा दुई निर्वाचन क्षेत्र कायम गर्न माग




काठमाडौँ
, ८ भदौ । निर्वाचन क्षेत्र निर्धारण गर्दा संखुवासभा जिल्लालाई दुई क्षेत्रबाट नघटाउन माग गरिएको छ ।

बिहिबार निर्वाचन क्षेत्र निर्धारण सरोकार समितिले आयोजना गरेको छलफल कार्यक्रममा संखुवासभा जनसंख्याका आधारमा प्रदेश नं १ को हिमाली जिल्लामध्ये सबैभन्दा ठूलो र भूगोलका आधारमा दोस्रो ठूलो भएकाले पनि दुई वटै निर्वाचन क्षेत्र कायम हुनुपर्ने जनाइएको छ ।

कार्यक्रममा पूर्व सांसद डेढराज खड्काले भूगोललाई पन्छाएर जनसंख्यालाई मात्र आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण हुन लागेको सूचना मिलेको बताउँदै भूगोलका आधारमा देशकै पाँचौँ ठूलो जिल्लालाई एउटै निर्वाचन क्षेत्र कायम गर्दा संघीयता नै अभिशाप साबित हुने उनको भनाइ थियो ।

समिति संयोजक डा रमेशकुमार ढुंगेलले विश्वकै होचो अरुण उपत्यकादेखि पाँचौँ अग्लो मकालु हिमाल पनि संखुवासभामै पर्ने भएकाले भौगोलिक विशिष्टताका आधारमा पनि दुई निर्वाचन क्षेत्र हुनुपर्ने बताए ।

कार्यक्रममा तत्कालीन जिविस संखुवासभाका पूर्वसभापति तुलसीप्रसाद न्यौपाने, नेपाली कांग्रेसका महासमिति सदस्य ज्ञानेन्द्रबहादुर कार्की, समितिका सदस्य सचिव डा ज्ञानेन्द्रबहादुर कार्की, अधिवक्ता शेरबहादुर कार्कीलगायतले संघीय संसद्मा दुई र प्रदेश संसद्मा चार निर्वाचन क्षेत्र कायम गरिनुपर्नेमा जोड दिए ।

विसं २०६८ को जनगणनानुसार जिल्लाको जनसंख्या एक लाख ५८ हजार ७४२ छ । तीन हजार ४८० वर्ग किमीमा फैलिएको संखुवासभाले एक नं प्रदेशको कुल भूभागको १३।४३ प्रतिशत क्षेत्रफल ओगटेको छ । समितिले दुई वटै निर्वाचन क्षेत्र हुनुपर्ने माग गरेर बुधबार निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।
रासस

प्रकाशित मिति : ८ भाद्र २०७४, बिहिबार ००:००