१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेदकोट नगरपालिकाको बजेट ४५ करोड




कञ्चनपुर
, ३१ साउन । कञ्चनपुरको बेदकोट नगरपालिकाले चालू आर्थिक बर्षका लागि रु ४५ करोड बढी बजेट विनियोजन गरेको छ । बेदकोट नगरपालिकाको प्रथम नगर सभाबाट ४५ करोड ५५ लाख ४४ हजार बजेट विनियोजन गरिएको हो ।

नगर सभाबाट चालू आर्थिक बर्षको बजेटसहित नीति र कार्यक्रम सर्वसम्मतिले पारित गरिएको छ । नगरपालिकाले विनियोजित बजेटमा संघीय सरकारको वित्तीय समानीकरणअन्तर्गत २५ करोड नौ लाख, संघीय सरकारको सशर्त अनुदान नौ करोड ९३ लाख र आन्तरिकबाट ८० लाख आम्दानी हुने अनुमान गरिएको छ । नगर सभाले सामाजिक सुरक्षाका लागि आठ करोड बजेट अनुमान गरेको छ ।

नगर सभाबाट १९ करोड १० लाख ६५ हजार पूँजीगत खर्च ५ करोड ५० लाख चालू खर्च पारित गरिएको छ । वडाबाट आएका योजनाका लागि तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ । नगर कार्यपालिकाको पहिलो बैठकबाट निर्णय गरिएको अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिलाउने प्रक्रियाका लागिसमेत सात लाख बजेट विनियोजन गरिएको छ ।

बेदकोटमा सबै वडालाई रु ३२–३२ लाख बजेट विनियोजन गरिएको छ । बेदकोटका प्रमुख अशोककुमार चन्दले वडामा भौतिक पूर्वाधार, स्वास्थ्य चौकी, शिक्षाका लागि वडालाई ३२ लाखका दरले बजेट विनियोजन गरिएको बताए ।

प्रमुख चन्दले सामाजिक सुरक्षा, कृषि, वन, स्वास्थ्य, महिला तथा बालबालिका, म्याचिङ फण्ड, विपन्न समुदाय उत्थान, ग्राभेलिङ, सांस्कृतिक क्षेत्र विकास, छाडा पशु चौपाया नियन्त्रणलगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको बताए ।

कार्यक्रममा प्रमुख चन्दले नीति तथा कार्यक्रम र उपप्रमुखले चालू आर्थिक बर्षको बजेट प्रस्तुत गरेका थिए । नगरपालिकाले आर्थिक समृद्धि र विकासका लागि ‘एक घर एक सीप, रोजगारीको आधारः समृद्ध बेदकोट नगर समाजवादको पूर्वाधार’ नीति कार्यान्वयन गरिने लक्ष्य लिएको छ ।
रासस

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलबार ००:००