१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन पटक म्याद थप्दासमेत सडक निर्माण अधुरै




दीपक घिमिरे

लुम्बिनी, २४ साउन ।

ठेकेदार कम्पनीको चरम लापर्बाहीका कारण व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकको भैरहवाको अञ्चलपर देखि बेलहियाको डण्डा पुल सम्मको सडक र पुल निर्माणमा निकै ढिलाइ भएको छ ।

बेलहियादेखि बुटवल गोलपार्क हुँदै चिडिया खोलासम्म साढे २७ किलोमिटर सडक विस्तार गर्ने जिम्मा पाएको सडक विस्तार आयोजनाले ठेक्का व्यवस्थापन गरेका अन्य स्थानको काम सन्तोषजनक रुपमा अगाडि बढे पनि भैरहवामा निर्माणाधीन सडकले निकै दुःखी बनाएको बताइएको छ ।

दुई दशमलव एक किलोमिटर सडक र डण्डा पुल निर्माणको जिम्मा पाएको कालिका तामाङ प्यासेफिक जेभीले ठेक्का सम्झौता गरेको दिनदेखि आजसम्ममा जम्मा ६५ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ भने ५९ प्रतिशत मात्र वित्तीय प्रगति गरेको छ । सन् २०१४ जुन १६ मा ठेक्का सम्झौता गरेका कालिका तामाङ प्यासेफिक जेभीले २०१६ जुलाई १६ मा ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गर्नुपर्ने थियो ।

सडक र पुल निर्माण भएर आम मानिस निर्धक्क यात्रा गरिसक्नुपर्ने बेला ठेकेदारको लापर्बाहीका कारण कतिबेला कहाँ दुर्घटनामा परिने हो भन्दै निकै सोच विचार पुर्याएर स्थानीयवासीलाई हिँड्नुपर्ने बाध्यता छ । असक्षम ठेकेदार कम्पनीले सडक निर्माणको जिम्मा लिएका कारण तीन पटक म्याद थपेर काम गर्दा समेत आशलाग्दो प्रगति हुन सकेको छैन । पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन र तामाङ कन्स्ट्रक्सनले सडक निर्माणको जिम्मा लिएका थिए ।

समयमै काम गर्न नसक्ने अनि विभिन्न बहाना बनाएर म्याद थपका लागि कागजात पेश गर्न खप्पिस कालिका तामाङ जेभीले २०७२ असोज २१ मा १२० दिनका लागि थप म्याद पायो । म्याद थप भएअनुसार सन् २०१५ नोभेम्बर १२ मा कार्य सम्पन्न गर्नुपर्ने थियो । एकसय २० दिन म्याद थप गर्दा पनि कुनै माखो मार्न सकेन कालिका तामाङ जेभीले । त्यसपछि पुनः २०७२ माघ ६ गते ८४ दिनको म्याद थप पाएर काम गर्ने मौका पायो । त्यो मौका पनि यतिकै गुमायो ।

कालिका तामाङ जेभीले थप म्याद माग्दै जाने अनि सडक विभागका महानिर्देशकले म्याद थप गर्दै जाने क्रम अर्को पटक पनि दोहोरियो । दुई पटक गरी २०४ दिन म्याद लम्ब्याउन दिएर पनि काम सम्पन्न गर्न नसकेको कालिका तामाङ जेभीले लाज र संकोच नै नमानी फेरि १८२ दिनको म्याद थपको कागजात पेश गर्यो । उसले पेश गरेको कागजात र अवस्थाको आकलन गर्दै पुनः तेस्रो पटक १८२ दिनका लागि म्याद थप भयो जसअनुसार सन् २०१७ अगस्त ३ मा १८२ दिनको थप म्याद पनि सकियो ।

तीन पटक गरी ३८६ दिन म्याद थपको मौका पाए पनि उसको काम सन्तोषजनक भएन । ठेकेदार कम्पनीको लापर्बाहीकै कारण बेलहियाको डण्डा पुल नजिक, बर्मेली टोल र बुद्धचोक तथा भैरहवास्थित विद्युत् कार्यालय अगाडिको सडक अस्तव्यस्त छ ।

आयोजनाले सडक निर्माणको काम सम्पन्न गर्न पटकपटक आह्वान गरे पनि ठेकेदार कम्पनीले सुनेको नसुने झैँ गरेको छ । फलस्वरुप फेरि अर्को पटक पनि १६८ दिनको थप म्यादका लागि कागजातसहितको निवेदन पेश गरेको छ । ठेकेदार कम्पनीले बन्दका कारण काम गर्न नसकिएको भन्दै १८ दिन, बेमौसमी वर्षात्का कारण भन्दै २४ दिन, स्थानीय तहको निर्वाचनका कारण २० दिन, मनसुनका कारण ५४ दिन, शीतलहरका कारण २२ दिन र निर्माण सामग्रीको अभावमा ३० काम गर्न नपाएको भन्दै १६८ दिन म्याद थपका लागि निवेदन पेश गरेको छ । कालिका तामाङले देखाएका कारणमध्ये अधिकांश झुठा रहेको जानकारहरु बताउँछन् । काम गर्न नसक्ने अनि विभिन्न बहाना देखाएर म्याद थप गराउने उसको पुरानै रोग हो । त्यसकारण उक्त ठेकेदार कम्पनीलाई कडा जरिवाना लगाएर तत्काल काम सक्न चेतावनी दिनुपर्ने सम्बन्धित सबै पक्षको आग्रह छ ।

व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकका निमित्त प्रमुख एवं इन्जिनियर लीलाबहादुर भण्डारीले तीन पटकसम्म म्याद थप गर्दा समेत काम सम्पन्न गर्न नसक्ने कालिका तामाङ जेभीलाई हर्जाना तिराएर मात्रै म्याद थपको प्रक्रिया अगाडि बढाइने बताए । उनले कालिका तामाङ जेभीले निर्माणको जिम्मा लिएको भैरहवा क्षेत्रको सडकका कारण आयोजनाको इज्जत र प्रतिष्ठामा समेत आँच आएको भन्दै उसलाई काम सम्पन्न नहुँदासम्म दैनिक रु ४५ हजार जरिवाना गर्न सकिने तर्क गरे ।

“सडक निर्माण प्रक्रिया अधुरो छाड्दा भैरहवाको विद्युत् कार्यालय अगाडि, बुद्धचोक र डण्डा खोला पुल अगाडिको सडकमा भयावह स्थिति बनेको छ,” उनले भने– कालिकाले असक्षम सावित तामाङ कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिँदा यो गति भएको हो ।

व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडक इन्जिनियर एवं साइट इन्चार्ज योगेन्द्रबहादुर अधिकारीले दुई दशमलव एक किलोमिटरको सडक निर्माण हुनुपर्नेमा अहिले बीचबीचमा मात्रै निर्माण कार्य भएकाले सडक प्रयोगकर्तालाई समस्या परेको बताए । यस विषयमा आफूले पटकपटक निर्माण व्यवसायीलाई जानकारी गराइएको पनि उनले बताए । डण्डा पुलको निर्माणको जिम्मा पाएको तामाङले पुल निर्माणमा समेत ढिलाइ गर्नुका साथै पुल अगाडिको पिच सडक भत्काएका कारण यात्रुले निकै समस्या भोग्नुपरेको छ ।

सडक भत्काउँदै छाड्दै गर्दा बेलहियादेखि अञ्चलपुरसम्मको सडकखण्डमा अत्यधिक दुर्घटनासमेत हुने गरेको तथ्याँकले देखाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथ्याँकअनुसार उक्त सडकखण्डमा गत आर्थिक वर्षमा मात्रै ७० वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर तीन जनाले ज्यान गुमाएको तथा थुप्रै घाइते भएको र कैयौँ सवारीसाधनमा क्षति पुगेको ट्राफिक प्रहरी निरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । उनले सडककै दूरवस्थाका कारण मात्रै झण्डै आधाको हाराहारीमा दुर्घटना भएको र उक्त सडकको निर्माण कार्य छिट्टै सम्पन्न गर्न लगाउन सबैले दबाब दिनुपर्ने बताए ।

सन् २०१४ बाट निर्माण कार्य शुरु गरेको कालिका तामाङ जेभीले समयमै निर्माण कार्य सम्पन्न नगरिदिँदा यस क्षेत्रका व्यवसायी निकै समस्यामा परेका छन् । सडकको दायाँबायाँ रहने सर्भिस लेनको काम पूरा नगर्दा व्यवसायी निकै मर्कामा परेका हुन् । अञ्चलपुरदेखि बर्मेलीसम्मका व्यवसायीले गएको तीन वर्षमा सडककै कारण करोडौँको घाटा बहोर्नु परेको बताएका छन् ।

उद्योग व्यापार संगठनका अध्यक्ष एवं बुद्धचोकमा व्यवसाय गर्दै आएका नारायणप्रसाद भण्डारीले धुलो र हिलोका कारण करोडौँको सामान नोक्सान भएको तथा करोडौँको व्यापार घाटा भएको बताए । सरकारी पैसामा रजाइँ गर्ने यस्ता निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही अगाडि बढाउनु पर्ने उनको माग छ ।

“सडकमा उडेको अत्यधिक धुलाका कारण सयौँ जनाको स्वास्थ्य बिग्रिनुका साथै उपचारका नाममा करोडौँ रुपैयाँ नोक्सान भएको छ,” उनले भने– “यसको क्षतिपूर्तिको विषयमा कसले आवाज उठाउने रु”

निर्माणको जिम्मा पाएको कालिका तामाङ प्यासेफिक जेभिका इन्जिनियर रामु ज्ञवालीले विगतमा आफूहरुको कमजोरीका कारण केही समय ढिलाइ हुन पुगेको स्वीकार गर्दै आगामी तीन–चार महिनाभित्र सम्पूर्ण काम सक्ने बताए । पैंसठ्ठी प्रतिशत काम गर्दा अप्ठ्यारा काम जति सकिएका कारण अब छिट्टै काम सकिने उनको भनाइ छ । तत्कालीन समयमा निर्माण सामग्री र उपकरण अभावका कारण काममा ढिलाइ भएको बताउँदै उनले सडक निर्माणका लागि आवश्यक सबै सामग्रीको मौज्दात पर्याप्त भएकाले अब थपिएको समयभित्र निर्माण कार्य पूरा गर्ने दृढता व्यक्त गरे ।
रासस

प्रकाशित मिति : २४ श्रावण २०७४, मंगलबार ००:००