१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिलाको पक्षमा काम गर्ने नवनिर्वाचित प्रमुख उपप्रमुखको प्रतिबद्धता




रत्ननगर
(चितवन), २२ साउन । चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख रेणु दाहालले महिलाको हक अधिकार स्थापित गर्न लागिपर्ने बताएकी छन् ।

उनले महिलाको अधिकारको पक्षमा र एकल महिलाको अधिकार स्थापित गर्ने कुरामा आफूले केही गरेर देखाउने प्रतिक्रिया दिइन् । पहिलो काम नै महिलाको अधिकार सुरक्षित गर्ने रहेको उनको भनाइ थियो ।

गएराति करिव १०ः३० बजे विजयी भएकी उनले संक्षिप्त प्रतिक्रिया दिँदै देशकै केन्द्रभागमा रहेको भरतपुर महानगरलाई एउटा व्यवस्थित शहरका रुपमा विकास गर्ने बताइन् । उनले विगतमा गरेको प्रतिबद्धता पूर्ण कार्यान्वयन गर्ने बताइन् ।

“देशकै केन्द्रभागमा महानगर भएकाले समृद्ध र एउटा व्यवस्थित शहर बनाएर अघि बढ्ने छु, दाहालले भनिन्, “पहिलो, दोस्रो र तेस्रो गरेर प्राथमिकताको आधारमा काम गर्छु ।” यस्तै नवनिर्वाचित उपप्रमुख पार्वती शाहले विगतमा बनाएको घोषणापत्र र गुरुयोजना बनाइसकेकाले त्यसअनुसार अघि बढ्ने बताइन् ।

प्रमुख र उपप्रमुख महिला नै भएकाले पनि महिलाका विषयमा गम्भीर भएर अघि बढ्ने उनको भनाइ थियो । उनले सबै पक्षलाई मिलाएर विकास र नगरको समृद्धिमा लाग्ने प्रतिबद्धता जनाइन् ।

भरतपुर महानगरको प्रमुखमा नेकपा एमालेका देवी ज्ञवालीलाई २०३ मतले पछि पार्दै नेकपा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी थिइन् । उनले ४३ हजार १२७ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे ।

यस्तै उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले ४७ हजार १९७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निकटमत प्रतिद्वन्द्वी एमालेकी दिव्य आचार्यले ३९ हजार ५२५ मत प्राप्त गरिन् । निर्वाचित भएपछि राति नै सामान्य विजयी जुलुस निकालिएकामा आज पनि भरतपुरमा भव्य विजयी जुलुस निकाल्ने तयारी छ ।

भरतपुरमा माओवादी केन्द्र र कांग्रेसले प्रमुख र उपप्रमुखमा तालमेल गरेको थियो । गएको जेठ १४ गते मतपत्र च्यातिएपछि विवादित बनेको निर्वाचन अघिल्लो शनिबार सर्वोच्चको फैसलासंगै भरतपुर–१९ मा पुनः मतदान भएको थियो ।
रासस

प्रकाशित मिति : २२ श्रावण २०७४, आइतबार ००:००