१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर–१९ का मतदाताः विकास र निकासका लागि पुनःमतदान गर्न आतुर



नारायण ढुंगाना ।
रत्ननगर, (चितवन) १९ साउन । चितवनको भरतपुर–१९ का मतदाता अन्योलताबाट निकास निस्किने र विकासको गतिले तीव्रता पाउने आशासहित पुनः मतदान गर्न आतुर छन् ।

निर्वाचन भएपछि साढे दुई महिना विवादका कारण अन्योलमा बसेको भरतपुर महानगरपालिकामा भोलि शुक्रबार हुने मतदानले निकास पाउने आशामा मतदाता भोट हाल्न आतुर देखिएका हुन् ।

“के होला, भनेर कुर्दा–कुर्दा बल्ल भोट हाल्न पाउने भएका छौँ, भरतपुर–१९ शारदानगर मावि मतदान केन्द्रकी मतदाता तारा गुरुङले भनिन्, विकास र निकासका लागि मतदान गर्न आतुर छु ।”

“मतपत्र च्यातिनु गलत भए पनि फैसला ढिला हुँदा खिन्न भएका मतदातामा अहिले उत्साह थपिएको छ” उनी भन्छिन्, “गाउँमा पानी परिरहेको छ, चहलपहल राम्रै छ, असिना पानी परे पनि हामी भोट हाल्ने तयारीमा छौँ ।’’

संगै भएका निर्वाचनबाट विजयी उम्मेदवारले विकासका खाका सार्वजनिक गरेर कामलाई तीव्रता दिइसकेका छन् । तर भरतपुर महानगरका २७ वटा वडाका विजयी प्रतिनिधिले काम गर्न पाएका छैनन् । त्यसैले साढे दुई महिनादेखिको अन्योल भोलिको निर्वाचनसंगै टुंगिने भरोसा मतदातामा छ ।

जीवनज्योति आधारभूत विद्यालयमा भोट खसाल्ने तयारीमा रहेका स्थानीय उदयराज पराजुली भन्छन्, “लामो अन्योल भो, जे भए नि होस् भोलि दोस्रोपटक भोट हाल्न पाए ढुक्क हुन्छु ।”

अन्योलताले विकास रोकेको भन्दै उनले भोलिको मतदानपछि भने छिट्टै परिणाम आउने र विकासको गति अघि बढ्ने आशा व्यक्त गरे । लामो समय पानी नपरेको चितवनमा गएरातिदेखि नै वर्षा भइरहेको छ । वर्षा नहुँदा वडा नं १९ मा राम्ररी रोपाइँ भएको छैन । मतदातालाई रोपाइँको चटारो छ ।

रोपाइँ गर्ने कि भोट हाल्ने त भन्ने प्रश्नमा पराजुलीले भन्छन्, “मेसो मिलाएर दुइटै काम गर्छन् नि, नेताहरुले खोजीखोजी आफ्ना मतदाता ल्याइहाल्छन् ।” अर्का स्थानीयवासी गुञ्जमान विक पनि भोलिको निर्वाचन सकिएपछि भने ढुक्क हुने बताउछन् ।

अन्योलले काम गरेर खाने मजदुरलाई समस्या भएपनि निर्वाचनपछि व्यवसायमा लाग्न सहज हुने बताउछन् । उक्त विवादित विषयमा मुद्दा हाल्नेमध्ये विक पनि थिए । शारदानगरकी अर्की मतदाता मन गुरुङ पनि भोट हाल्न उत्साहित छन् । जनताले दुःख पाए पनि निकास निस्कने भएकाले भोट हाल्न जाने उनले बताए ।

अर्का मतदाता डा बेनबहादुर केसी आफ्नो प्रतिनिधि चुन्नका लागि पनि जानैपर्ने बताउछन् । “पहिलेको बदर भैहाल्यो, अब फेरि भोट हालेर प्रतिनिधि चुन्नुपर्छ, उनको भनाइ छ ।” जेठ १४ गते मतगणनाका क्रममा यहाँको मतपत्र च्यातिएपछि मुद्दा परेकाले यहाँको निर्वाचन अन्योलमा थियो ।

सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानका लागि आदेश दिएपछि भोलि शुक्रबार यहाँ पुनः मतदान हुँदैछ ।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल आज मतपत्रसहितका सबै सामग्री मतदान स्थलमा पुगिसकेको बताउछन् । तीनवटा मतदानस्थलमा यहाँ ६ वटा मतदान केन्द्र र तीन हजार ७९७ मतदाता छन् । भरतपुर वडा नं २० को मतगणना गर्न बाँकी छ । यसअघि भरतपुर–१९ को बदर मतपत्र भने जलाएर नष्ट गरिसकिएको छ ।

प्रहरी उपरीक्षक दीपक थापा मतदानस्थलमा आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन भएको बताउछन् । निर्वाचन सफल बनाउन जिल्लाका सबै राजनीतिक दलले प्रतिबद्धता जनाएका छन् ।
रासस

प्रकाशित मिति : १९ श्रावण २०७४, बिहिबार ००:००