८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुरमा पुनः मतदानः अवको निर्णय जनताको हातमा




नारायण ढुंगाना, रत्ननगर (चितवन) ।

मतपत्र च्यातिएपछि रोकिएको चितवनको भरतपुर महानगरपालिकामा दुई महिनापछि पुनः चुनावी सरगर्मी बढेको छ । सर्वोच्च अदालतले निर्वाचन आयोगको पुनः मतदान गर्ने निर्णय सदर गरेसंगै यहाँ चुनावी चहलपहल बढेको हो ।

अहिले चुनावी अभियानमा विभिन्न दलका नेता तथा कार्यकर्ता भरतपुर–१९ पुगेका छन् । भरतपुर–१९ का मतदाता राजुभक्त लम्सालले अब दलहरु फेरि चुनावी अभियान लिएर गाउँ आइपुगेको बताए ।

उनले भने, “सर्वोच्च अदातलको निर्णय आयो, अब अन्तिम निर्णय गर्ने पालो १९ वडाका जनताको ।” मिति पनि चाँडै तोकेर छिटो निर्वाचन भए मतदातालाई ढुक्क हुने थियो भन्दै उनले खेती किसानीको चटारो मै यहाँ मतदान हुन लागेकाले किसानलाई समस्या पर्ने बताए ।

दलका कार्यकर्ता वडामा आउन थालेको उल्लेख गर्दै अर्का मतदाता उदयराज पराजुलीले भने, “सर्वोच्च अदालतले त निर्णय गर्यो, अब भरतपुर–१९ का मतदाताले कहिले निर्णय गर्न पाउने हो रु”

नेपाली कांग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्रका तर्फबाट भरतपुर महानगरको प्रमुखका उम्मेदवार रेणु दाहाल आइतबार बिहानै भरतपुर–१९ पुगिन् । दाहालले सर्वोच्च अदालतको निर्णय स्वागतयोग्य भएको चर्चा गर्दै भरतपुर–१९ मा मतदाता समक्ष भेटघाटमा लागेको बताइन् ।

माओवादीका महानगर संयोजक ईश्वर सापकोटाले चुनावी अभियान तीव्र भएको बताए । यता नेकपा एमाले जिल्ला पार्टी कार्यालयले भने केन्द्रको निर्देशन पर्खिरहेको छ । एमालेका जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले केन्द्रको निर्देशनअनुसार अघि बढ्ने बताए । चुनावमै पनि वास्तविकता बुझेर एमालेलाई मतदाताले राम्रो सहयोग गर्ने उनको भनाइ छ ।

एमालेका वडास्तरका नेता तथा कार्यकर्ता आइतबारबाटै भरतपुर–१९ मा सक्रिय भएको सो दलका महानगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले जानकारी दिए ।

महानगरको प्रमुखका दुई उम्मेदवार ज्ञवाली र दाहालको कडा प्रतिष्पर्धाका बीचमा मतगणना चल्दै गर्दा जेठ १४ गते राति ११ः४५ बजे ९० मतपत्र च्यातिएको थियो । निर्वाचन आयोगले पुनः मतगणनाको निर्णय गरेपछि भरतपुर महानगर–१९ मा एमालेबाट वडादस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले पुनः मतगणनाको माग गर्दै मुद्दा दायर गरेका थिए ।

मुद्दा हाल्ने विक अदालतबाट जस्तो निर्णय भएपनि स्वीकार गर्नुपर्ने भएकाले अब चुनाव मै जाने बताउछन् । एमालेका महानगर प्रमुखका उम्मेदवार ज्ञवालीले अदालतको निर्णय स्विकारयोग्य नलागेपनि अब चुनावमा गएर जनताको मन जित्ने प्रतिक्रिया दिए ।

मतपत्र च्यातिएपछि एमालेका कार्यकर्ताले यस विषयमा मतदातालाई जानकारी दिन भन्दै भण्डाफोर कार्यक्रममार्फत चुनावी अभियान चलाएको थियो ।

मतको अवस्था यस्तो थियो

सत्ताइ वटा वडाको मतगणना सकेर २८औँ वडाको रुपमा भरतपुर महानगरको वडा नम्बर १९ को मतगणना हुँदै थियो । उक्त वडामा दुई हजार ८९७ मत खसेकामा एक हजार ८०९ मत गनेर सकिएको थियो ।

जसमा एमाले प्रमुखका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ६४१ मत ल्याएका थिए भने कांग्रेस माओवादी केन्द्र गठबन्धन बाट प्रमुखकी उम्मेदवार रेणु दाहालको ४० हजार ९०८ मत थियो । मतान्तर ७३३ थियो । उक्त १९ नम्बर वडामा मात्रै एक हजार ८०९ मत गन्दा रेणु दाहालको ५१ मत बढी थियो ।

एक हजार ८८ मत गन्न बाँकी थियो । अनि भरतपुर–२० को तीन हजार ३०२ मत गन्न बाँकी नै थियो । रातभर गनेर भोलिपल्ट बिहान गणतन्त्र दिवशमा परिणाम घोषणा गर्ने तयारी थियो । एकाएक मतपत्र च्यातिएपछि मतगणना रोकियो ।

त्यसपछि १९ वडाका सबै मत खरेजीको निर्णय निर्वाचन आयोगले गरेपछि अब दुई उम्मेदवारको आधिकारिक मत भनेको भरतपुरका २७ वडाको मात्रै हो । जसअनुसार ज्ञवालीको ४० हजार ९८० र दाहालको ४० हजार १९६ मत छ ।

उनीहरुबीचको आधिकारिक मतान्तर ७८४ छ । भरतपुर महानगरको वडा नम्बर १९ मा तीन हजार ७९७ मतदाता छन् । उनीहरुबीच नै मतदान हुन्छ । यहाँ किरणगञ्ज, शारदानगर र गुञ्जानगरमा तीन मतदान स्थलमा छ वटा मतदान केन्द्र तोकिएको छ ।
रासस

 

प्रकाशित मिति : १७ श्रावण २०७४, मंगलबार ००:००