१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानीको अभावमा रामपुर गाउँका सय घरपरिवारको दैनिकी प्रभावित




डडेल्धुरा
। डडेल्धुरा परशुराम नगरपालिका–६, रामपुरका स्थानीय बासिन्दा लामो समयदेखि खानेपानीको अभाव झेल्दै आइरहेका छन् । वर्षात्को समयमा पनि खानेपानीको अभावमा रामपुर गाउँका एक सय घरपरिवारको दैनिकी प्रभावित हुँदै आएको छ ।

खानेपानीको अभावमा यहाँका स्थानीय बासिन्दालाई शौचालयदेखि सरसफाइका लागिसमेत समस्या हुने गरेको छ । करिब पाँच वर्ष पहिले घर घरमा धारा निर्माण गरिएको भए पनि मूलमा पानी सुकेर जाँदा ती धारामा पानी नै आउँदैन । विस्तृत अध्ययनबिना खानेपानी योजना निर्माण गरिएकाले धारामा पानी नआएको हो ।

गाउँ नजिकै रहेको खोलाको पानी जम्मा गरेर आफ्नै पहलमा गाउँमा बनाइएको सानो ट्यांकीमा जम्मा गरिएको पानी दिनमा एकपटक मात्रै खोलिने र त्यसैबाट एक गाग्री मात्रै पानी वितरण गर्ने गरिएको छ । थप खानेपानीका लागि खोलाको फोहर पानीमा भर पर्नुपर्ने बाध्यता रहेको रामपुरवासीको भनाइ रहेको छ ।

खानेपानीको अभाव झेल्दै आएका यहाँका स्थानीय बासिन्दालाई गाईगोरुलाई खानेपानीदेखि लुगा धुन र नुहाउनका लागि पनि करिब आधा घण्टाको दूरीमा रहेको रंगुन नदीमा भर पर्नुपर्ने बाध्यता रहेको छ ।

रामपुर गाउँमा खानेपानीको समस्या रहेकाले चाँडै नै खानेपानी योजना बनाउने परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले जानकारी गराए । रामपुरवासीलाई खानेपानीको साह्रै समस्या भएकाले सो गाउँमा खानेपानी पुर्याउनका लागि पहल गरिने प्रमुख साउदले बताए ।
रासस

प्रकाशित मिति : १२ श्रावण २०७४, बिहिबार ००:००