५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलो जोत्ने महिला उपाध्यक्ष भन्छिन्ः महिलालाई अन्याय हुन दिन्न




ललित सिंह, बझाङ ।

जिल्लामै पहिलोपटक हलो जोतेर चर्चामा आएकी थलारा गाउँपालिकाकी गंगु खडायत अहिले उपाध्यक्षमा निर्वाचित भएकी छन् । गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिला धेरै पीडामा रहेको बताउने गंगुले आफ्नो कार्यकाल महिलामाथि हुने अन्याय, अत्याचार अन्त्य गर्नमा खर्चिने बताउछिन् ।

महिलाले हलो जोत्दा अनिष्ट हुन्छ भन्ने मान्यता अहिले पनि कायमै रहेको समाजमा विसं २०५९ मा हलो जोत्दा उनलाई विभिन्नखालका अफवाह र लाञ्छनाहरु खेप्नु पर्यो । तर पनि उनी विचलित भइनन् । लगातार पाँच वर्षसम्म आफै हलो जोतेर आफ्नो खेती आफैँ लगाइन् ।

“सबैका पुरुष सधैँ घरमा हुँदैनन्”, उनले भनीन्, “पुरुष घरमा नभएका महिलाले आफन्तलाई हारगुहार गरेर हलो जोति माग्नुपर्थ्यो हलो जोतिदिएकै भरमा पुरुष घरमा नभएका महिलाले विभिन्नखालका यौन जन्य हिंसा र थिचोमिचो सहनु परेको देखेँ, अन्यायको जरा हलोमा अड्किएको देखेर हलो जोत्ने साहस गरेकी हुँ ।”

शुरुमा महिलाले हलो जोत्दा खडेरी पर्छ अनिकाल पर्छ भनेर हल्ला फैलाए पनि पछि त्यस्तो केही नभएको देखेर यहाँका धेरै महिलाले आफैँ हलो जोत्ने साहस गरेको उनले बताइन् ।

विसं २०२० मा भारतको कर्नाटकामा जन्मीएकी गंगु साविक पाराकाट्ने गाविसका दिलबहादुर खडायतसंग विवाह गरेर २०४१ सालतिर बझाङ आएकी हुन् ।

सूचना प्रविधिको शहरका रुपमा परिचित भारतको बेङ्लोर सहरमा हुर्किएकी गंगुले बझाङ जस्तो अन्धविश्वासको पराकाष्ठा रहेको ठाउँमा आएर स्थापित हुन थुप्रै संघर्ष गर्नुपर्यो । बझाङ आएको केही वर्षमै उनका श्रीमान्ले छोडेर हिँडे । एकल जस्तै बनेर एक सन्तानलाई हुर्काउने क्रममा उनले भोगेको कष्टले समाज बुझ्न सघायो ।

“महिलालाई यतिसम्म तल्लोस्तरबाट हेरिन्छ होला भन्ने सोचेकी पनि थिइनँ”, उनले विगत सम्झिँदै भनिन्– “आफूले नै परिवार समाजबाट भोग्नुसम्म पीडा भोगेँ, अनि विद्रोह नै गर्नुपर्छ भन्ने सोच पलायो ।” २०४९ साल को स्थानीय निर्वाचनमा निर्विरोध वडा सदस्य भएपछि राजनीति शुरु गरेकी उनले त्यसबेलासम्म औपचारिक शिक्षा ५ कक्षासम्म मात्र पढेकी थिइन् । विसं २०६७ मा ४७ वर्षको उमेरमा उनले एसएलसी पास गरिन् ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित भइसकेपछि उनले गाउँपालिकाको समग्र विकाससंगै महिलाप्रति हेर्ने दृष्टिकोणलाई न्यायपूर्ण बनाउन आफू रातदिन लाग्ने दृढता व्यक्त गरिन् । उनी भन्छिन्– “नियमले उपाध्यक्षलाई न्यायिक समितिको जिम्मा दिएको छ, हाम्रो समाजमा थुप्रै अन्याय र शोषण कायमै छन्, यसबाट महिला र बालबालिका बढी पीडित छन्, त्यसैले उनीहरुलाई सुविधा हुने काम गर्छु ।”

मदिरा नियन्त्रण गर्नु आफ्नो पहिलो काम भएको बताउँदै उपाध्यक्ष गंगु भन्छिन्– “आफू कमाइ नगर्ने भएका कारण महिला बढी समस्यामा छन्, विभिन्नखालका सीप सिकाएर महिलालाई गरिखाने बनाउनका लागि पहल गर्नेछु ।” खानेपानीको सुविधा सबै गाउँमा पुर्याउने, घाँसको वृक्षरोपण गर्नेदेखि लिएर विपन्न वादी महिलालाई आत्मनिर्भर बनाउनेसम्मका योजना सुनाउने उनीले आफू कुराभन्दा पनि काममा विश्वास गर्ने भएकाले थलाराका बासिन्दाले आफूलाई चुनेको बताउछिन् ।

उनी भन्छिन्– “हेर्दै जानुस्, थलारामा तपार्इंले अन्त कतै नभएको काम भयो भनेर समाचार लेख्ने दिन छिट्टै आउँदैछ, अन्तका मान्छेले हामीबाट सिक्ने गरी काम गर्छु ।”

महिलाका पीडा मार्नका लागि आफू रातदिन नभनी खटेका कारण थलाराका बासिन्दाले आफूलाई पनि कुनै पार्टी नभनेर गंगुदेवी खडायतको नाममा मत दिएको उनको दाबी छ ।
रासस

प्रकाशित मिति : १० श्रावण २०७४, मंगलबार ००:००