११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी–जोमसोम सडकमा सवारी सञ्चालन




म्याग्दी
। म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलामा रहेको अस्थायी पुल बाढीले बगाएपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन भएको छ । बुधबार राति आएको बाढीले बेगखोलामा बनाइएको अस्थायी पुल भत्काएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेको थियो ।

बाढीले अस्थायी पुल बगाएको खोलामा डाइभर्सन निर्माण गरी अस्थायी रुपमा सवारी साधन वारपार हुने व्यवस्था मिलाइएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । गत वर्ष आएको बाढीले बेगखोलामा रहेको बेलिब्रिज बगाएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत महिना ६ मिटर लामो अस्थायी पुल निर्माण गरेको थियो ।

सर्वसाधारण तथा यात्रुलाई पैदलमार्फत पार गर्न सहज बनाउन साँघु बनाइएको र सवारीसाधनलाई खोलाबाटै वारपार गर्ने गरी अस्थायी रुपमा अवरुद्ध सडक सञ्चालन गरिएको शेरचनले जानकारी दिए । उनका अनुसार खोलामा पुनः बाढी आएमा सवारीसाधन वारपार गर्न सक्ने अवस्था छैन । आयोजनाका इञ्जिनियरको टोली सडकको स्थलगत निरीक्षणमा आएपछि बेगखोलामा सवारी वारपारका लागि थप पूर्वाधार निर्माण गरिने जनाइएको छ ।

यसैबीच, पहिरोको जोखिमका कारण आजदेखि बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ । भदौ १५ गतेसम्म बेनी नगरपालिका–९ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डको सडकमा रातमा सवारी सञ्चालन नगर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : ५ श्रावण २०७४, बिहिबार ००:००