८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतपत्र च्यातिएको प्रकरणः छिटो समाधान दिन आग्रह




रत्ननगर
(चितवन) । भरतपुर महानगरपालिका– १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएको ५० दिन पुग्दासमेत कुनै समाधान नआएको जनाउँदै प्रमुख पदका उम्मेदवारले छिटो निकास दिन माग गरेका छन् ।

दोस्रो चरणको निर्वाचनबाट विजयी जनप्रतिनिधिले गाउँ र नगरसभामार्फत भावी कार्यक्रम सार्वजनिक गरिसक्दा समेत भरतपुर महानगर अन्योलमा छ । भरतपुर महानगरको मतगणनाका क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछिको विवाद अहिले सर्वोच्च अदालतनमा पुगेको छ । उक्त मुद्दाका कारण भरतपुरमा जितेर बसेका जनप्रतिनिधिले समेत काम गर्न पाएका छैनन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त समूहबाट महानगरपालिका प्रमुखका उम्मेदवार रेणु दाहालले चाँडै निर्णय आए मतदातालाई समेत सहज हुने बताइन् । उनले भनिन्, “एकदम लामो समय भयो, छिटो टुंग्याउन पाए हुन्थ्यो, दाहालले भनिन्, काम रोकिएको जस्तो महसुस भइरहेको छ ।”

नेकपा एमाले बाट महानगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले पनि निर्णय आउन ढिलाइ भएको जनाउँदै चाँडै निर्णय आए राम्रो हुने प्रतिक्रिया दिए । “विधि, परम्परा र अन्तर्राष्ट्रिय अनुभवका आधार सर्वोच्चले हेर्ला,” ज्ञवालीले संक्षिप्त प्रतिक्रिया दिए ।

अहिले दुवै उम्मेदवार अदालतमा निर्णयको ‘पर्ख र हेर’ को अवस्थामा छन् । निर्वाचन आयोगले पुनः मतदान गर्न दिएको आदेश विरुद्ध भरतपुर– १९ मा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सो मुद्दामा अदालतले हाललाई जे जस्तो अवस्थामा छ सो अवस्थाबाट अगाडि नबढाउनू भनी आदेश दिएपछि प्रक्रिया रोकिएको छ ।

त्यसपछि पटक पटक पेशी तोक्दै आएको अदालतले आजका लागिसमेत पेशी राखिएकामा फेरि सरेको बताइएको छ । मुद्दा हाल्ने स्वयं विक समेत जे निर्णय आए पनि छिटो निर्णय गर्न आग्रह गर्छन् ।

जेठ १४ पछिको अवस्था

जेठ १४ को मध्यरात पौने १२ बजे भरतपुर–१९ को मतगणना हुँदै थियो । दुई हजार ८९७ मत खसेको मध्ये एक हजार ८०९ मत गनेर सकिएको थियो । यसमा ज्ञवालीले ४१ हजार ६४१ तथा दाहालले ४० हजार ९०८ मत ल्याएका थिए । उनीहरुको मतान्तर ७३३ थियो । उक्त वडामा एक हजार ८०९ मत गन्दा दाहालले ५१ मत बढी ल्याएकी थिइन् । अब करिब एक हजार र केही मत गन्न बाँकी थियो । अनि भरतपुर २० को तीन हजार ३०२ मत गन्न बाँकी नै थियो ।

रातभर गनेर भोलिपल्ट बिहान गणतन्त्र दिवसमा घोषणा गरिने तयारी थियो । एकाएक राति पौने १२ बजे मतपत्र च्यातिएपछि मतगणना रोकियो जसमा ९० मत च्यातिएको पाइएको थियो । एमालेले माओवादी कार्यकर्ताले च्यातेको आरोप लगाएको छ भने माओवादी केन्द्रले एमालेले कब्जा गर्न लागेका बेला मतपत्रको सुरक्षा गर्ने क्रममा च्यातिएको जिकिर गर्दै आएको छ । रासस

प्रकाशित मिति : २ श्रावण २०७४, सोमबार ००:००