१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीले घर बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता




चरिकोट
। गएराति परेको अविरल वर्षाका कारण रामेछापको खिम्ती र फर्पुको सिमानामा रहेको बस्तीमा बाढी पस्दा दुईको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले लिखु गाउँपालिका वडा नं ७, खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्रीको शव फेला परेको, अर्का एकजनाको पनि शव फेला परेको र सनाखत हुन बाँकी रहेको बताए । त्यसैगरी अन्य छ जना घाइते रहेका छन् । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ ।

बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । पुल नजिकका दुई घरसमेत बगेका छन् । शनिबार दिउँसोदेखि खिम्ती क्षेत्रमा वर्षा भएको थियो । राति १० बजेपछि खहरे र छत्तिवनेमा बाढी बढेको थियो ।

स्थानीयवासीका अनुसार खिम्तीबजारमा रहेका खहरेपुलको उत्तरतर्फको गल्छीबाट बजार क्षेत्रमा बाढी पसेकाले केही घरमा क्षति पुगेको छ । बजारमा पार्किङ गरेका सवारीसाधनमा पनि बाढीले क्षति पुर्याएको छ । खहरेपुल निर्माणाधीन अवस्थामा भएकाले डाइभर्सन सडक भएको स्थानबाट खोलो बजार पसेको थियो ।

खिम्तीमा बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि राति पुग्ने प्रयास गरे पनि बाटो भत्किएका कारण अहिले बिहान प्रहरी घटनास्थलमा पुगी शव खोजिरहेको प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले बताए ।

प्रजिअ सूर्यबहादुर खत्रीले प्रारम्भिक सूचनाका आधारमा जिल्ला सदरमुकामबाट तीनै सुरक्षा निकायबाट उद्धार कार्यका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताए । चार वर्षअघि पनि खिम्तीमा बाढीले आठजनाको ज्यान लिएको थियो । रासस

प्रकाशित मिति : १ श्रावण २०७४, आइतबार ००:००