१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागार्जुन नगरपालिकाको बजेट ६४ करोड




काठमाडौँ
। नागार्जुन नगरपालिकाले रु ६४ करोड ७२ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि उक्त रकम बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । चालू खर्च रु. २१ करोड ६९ लाख ९० हजार, पूँजीगत खर्च रु. २३ करोड ५३ लाख, समपूरक कोष रु. चार करोड ५० लाख र नपा तथा वडाका भवन निर्माणतर्फ रु. १५ करोड बजेट रहेको छ ।

नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा राजनीतिक स्थिरता कायम हुँदै गएकाले अब विकास गर्नका लागि प्रत्येक स्थानीय तहले योजना बनाउनुपर्ने बताए । उनले भने– “तपाईंहरु जनताको भोटबाट जितेका प्रतिनिधि हुनुहुन्छ, जनताको चाहना र भावनालाई प्राथमिकतामा राखेर काम गर्नुहोस् ।”

नेता सिंहले नगरपालिकाको विकासका लागि गुरुयोजना तयार गरेर अगाडि बढेमात्र विकास हुने भन्दै नगरपालिकालार्इ विकासको गुरुयोजना बनाउन आग्रह गरे ।

सांसद ध्यानगोविन्द रञ्जितले नगरपालिकाका लागि छुट्याएको बजेट सही ठाउँमा प्रयोग गर्नुपर्ने बताए । उनले साउन १ गतेदेखि नै बजेट लागू हुने भन्दै विकासको काममा ढिला नगर्न आग्रह गरे ।

नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले विपन्न परिवारका लागि व्यापार व्यवसाय सञ्चालनका लागि नगरपालिकाको बजेटले विशेष कार्यक्रम ल्याएको बताए । उपप्रमुख सुशीला अधिकारीले नगरपालिकालाई नमूना नगरपालिका निर्माण गर्नेगरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताइन् । नीति तथा कार्यक्रममा वातावरणमैत्री नगरपालिका निर्माण, फोहरमैला व्यवस्थापन, सडक सौर्यबत्ती जडानलगायत कार्यलाई उच्च प्राथमिकता दिइएको छ ।

यस्तै सुशासन कायम, स्विजरल्याण्ड पार्क व्यवस्थापन, महिला विद्यालय, ज्येष्ठ नागरिक दिवा विश्रामस्थल निर्माण, बढी कर तिर्ने करदातालाई प्रोत्साहन, होमस्टे सञ्चालनलगायत कार्यलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ । रासस

प्रकाशित मिति : ३० असार २०७४, शुक्रबार ००:००