१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यनेपाल समृद्धिको प्रस्तावना सार्वजनिक



लमजुङ (बेँसीसहर) । मध्य नेपाल नगर प्रमुख रमेशकुमार पाण्डेले समृद्ध मध्य नेपालका लागि तयार पारेको प्रस्तावना सार्वजनिक गरेका छन् । दीर्घकालीन सोचका साथ तयार पारिएको प्रस्तावना एक कार्यक्रमका बीच बुधबार सार्वजनिक गरिएको हो ।

मध्य नेपाल समृद्घिको आधारः शिक्षा, कृषि, पर्यटन र पूर्वाधार भन्ने मूल नाराका साथ नगर प्रमुख पाण्डेले तयार पारेको प्रस्तावनामा कृषि, पर्यटन र शिक्षालाई मुख्य प्राथमिकता दिइएको छ । उनले शिक्षा अन्तर्गत बाल शिक्षा, बुहारी शिक्षा र प्रौढ शिक्षालाई प्रभावकारी बनाउने उल्लेख गरेका छन् ।

यस्तै कृषिअन्तर्गत ‘एक वडा एक विशेष उत्पादन’ लाई मुख्य प्राथमिकता दिने उनको कार्ययोजनामा उल्लेख छ । उनले हरेक घरमा व्यावसायिक कृषि प्रवर्धन गर्ने, हरेक घरका आमालाई कृषिबाट नै आम्दानी गर्नसक्ने बनाउनेलगायतका कार्यक्रम राखेको बताए ।

यसैगरी पर्यटन अन्तर्गत ग्रामीण पर्यटन, धार्मिक पर्यटन, पर्यापर्यटनलाई प्राथमिकतामा राखिएको छ । स्थानीय संस्कृति, समुदायको प्रवर्धन गरी विशेष समुदायलाई व्यावसायिक पर्यटन उद्योगतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको उनले बताए ।

यसअघि हुँदै आएका विकास निर्माणका कार्यक्रमलाई निरन्तरता दिँदै अवश्यकताअनुसार सडक, भवन, स्वास्थ्यचौकीलगायतका भौतिक पूर्वाधारका कार्यक्रम पनि तय गरेको पाण्डेले बताए । प्रस्तावना सार्वजनिक कार्यक्रममा उपप्रमुख राजकुमार श्रेष्ठ, कार्यकारी प्रमुख उपेन्द्रराज पौडेल, सबै वडाका अध्यक्ष र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । रासस

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार ००:००