तम्घास (गुल्मी) । मुसिकोट नगरपालिकाका नवनिर्वाचित प्रमुख सोमनाथ सापकोटा तथा उपप्रमुख कमला गौतमले पदभार ग्रहण गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयमा सपथ लिएलगत्तै दुवै जनाले नगरपालिकाको कार्यालय वामी टक्सारमा गई पदभार ग्रहण गरे ।
शपथग्रहण कार्यक्रममा प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्रमुख सापकोटाले भौतिक पूर्वाधार निर्माण, जनमैत्री प्रशासन तथा गरिबी र विकटताका कारण आधारभूत आवश्यकताबाट पछि परेको समुदायको कामलाई पहिलो प्राथमिकता दिने बताए ।
“घोषणा पत्रमा उल्लेख गरे बमोजिम सबै पार्टीसंग समन्वय सहकार्य गरेर काम गर्छु,” उनले भने । सापकोटाले आफू चुनावमा फरक पार्टीबाट उम्मेदवार बनेपनि निर्वाचित बनेपछि मुसिकोट नगरपालिकाको साझा प्रमुख भएकाले जिम्मेवारीपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उपप्रमुख गौतमले नगरवासी र नगरको विकासका लागि निष्ठापूर्वक काम गर्ने बताइन् । कार्यक्रममा पूर्व सांसद कमल श्रेष्ठ, एमालेका मुसिकोटनगर कमिटी अध्यक्ष जीवन खरेल, माओवादी केन्द्रका कृष्णप्रसाद काफ्ले, जनमोर्चाका मोहनलाल श्रेष्ठ, मालेका राजकुमार श्रेष्ठलगायतले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाईसहित सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे ।
निर्वाचन अधिकृत घनश्याम न्यौपानेले प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सम्पूर्ण वडा सदस्यलाई शपथग्रहण गराए । रासस
प्रतिक्रिया