२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१७२ को मतपरिणाम घोषणा, सुनसरीका दुइ उपमहानगरमा एमालेको अग्रता



काठमाडौँ । स्थानीय तहको दोस्रो चरणमा असार १४ गते ३३४ स्थानीय तहका लागि भएको निर्वाचनको अन्तिम परिणाम प्राप्त हुने क्रम जारी रहेको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी०बाट आइतबार बिहान ९ बजेसम्म प्राप्त जानकारीअनुसार १७२ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भएको छ । हाल १५५ स्थानीय तहको मतगणना जारी रहेको र केही स्थानीय तहको मतगणना स्थगन भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । रासस

धरान र इटहरी उपमहानगरमा एमालेको अग्रता

इटहरी । सुनसरी जिल्लाको दुई उपमहानगर धरान र इटहरीमा मतगणनाको पछिल्लो सार्वजनिक नतिजाअनुसार दुवै उपमहानगरमा एमालेले अग्रता लिएको छ ।

इटहरी उपमहानगरमा नेकपा एमालेका द्वारिकलाल चौधरीले पाँच हजार ८३३ मत र उपप्रमुखमा एमालेकै लक्ष्मी गौतमले पाँच हजार २९५ मत ल्याएर अग्रता लिएका छन् । नेपाली कांग्रेसका रोहितकुमार प्रसाईंले पाँच हजार ८०४ र उपप्रमुखमा बिमला ढकालले पाँच हजार २७२ मत ल्याएका छन् ।

यसैगरी, धरान उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका तारा सुब्बाले तीन हजार ७७३, उपप्रमुखमा एमालेकै मञ्जु भण्डारीले चार हजार ४१२ मत ल्याई अग्रता लिएकी छन् भने त्यहाँ नेपाली कांग्रेसका प्रमुख तिलक राईले तीन हजार २८४ र उपप्रमुखमा कांग्रेसकै श्यामा रेग्मीले चार हजार १०८ मत प्राप्त गरेका छन् । त्यहाँ वडा नं १, २ र ५ मा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ भने नेकपा एमालेले वडा नं ३ र ४ मा सेटै विजय प्राप्त गरेको छ ।

सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा नेपाली कांग्रेसका राजन मेहेताले तीन हजार ३८५ र उपप्रमुखमा कांग्रेसकै जमुना पोख्रेल गौतमले तीन हजार १२१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पोष्टकुमार नेपालले दुई हजार २३४ र उपप्रमुखमा कविताकुमारी यादवले दुई हजार ४० मत प्राप्त गरेका छन् ।

त्यस्तै, बराह नगरपालिकामा नेकपा एमालेका निलख खनालले चार हजार ४००, उपप्रमुखमा कमला मगरले चार हजार २८८ मत ल्याई एमालेले अग्रता लिएको छ भने त्यहाँ नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार बाबुराम बिष्टले तीन हजार ८३०, उपप्रमुख पूजा धामीले चार हजार १०५ मत ल्याएका छन् । वडा नं १ र २ मा नेपाली कांग्रेस र ३ र ४ वडामा नेकपा एमालेले सेटै जितेको छ ।

यसैगरी, दुहवी नगरपालिकाको प्रमुखमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वेदनारायण गच्छदारले चार हजार ७८ तथा उपप्रमुखकी सुनिता दाहालले तीन हजार ८८२ मत ल्याई अग्रस्थान प्राप्त गरिरहेका छन् भने नेकपा एमालेका प्रमुख विनयराज पोख्रेलले तीन हजार २६५ र उपप्रमुख चन्द्रकला विश्वासले तीन हजार ६४२ मत ल्याएका छन् ।

त्यहाँ ५, ११ र १२ वडामा फोरम लोकतान्त्रिकले विजय प्राप्त गरेको छ भने नेपाली कांग्रेसले एउटा वडा, नेकपा एमालेले तीनवटा वडामा विजय प्राप्त गरिसकेको छ भने सङ्घीय फोरमले एउटा वडामा जित निकालेको छ । दुहवीमा ७ र १० नं वडाको मतगणना बाँकी रहेको बताइएको छ ।

त्यस्तै, रामधुनी नगरपालिकामा पनि नेपाली कांग्रेसका प्रमुख जयप्रकाश चौधरीले पाँच हजार ३५७ र उपप्रमुख विजया कट्वालले पाँच हजार ३९७ मत प्राप्त गरी नेपाली कांग्रेसको अग्रतालाई कायम राखेका छन् ।

रामधुनीमा नेकपा एमालेका प्रमुख नन्दकुमार बस्नेतले चार हजार ८२ र उपप्रमुखमा सविना चौधरीले चार हजार ६६७ मत ल्याएको निर्वाचन अधिकृत टुवराज पोख्रेलले जानकारी दिएका छन् । रासस

प्रकाशित मिति : १८ असार २०७४, आइतबार ००:००