खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पाचिउरी डाँडामा कांग्रेस, माओवादी केन्द्र, फोरम र नयाँ शक्तिबीच गठबन्धन भए पनि एक्लै चुनाव लडेको एमाले विजयी भएको छ । गठबन्धनका चार दलले एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिए पनि उनीहरूलाई एमाले एक्लैले पराजित गरेको छ ।
तालमेल गरेर एउटै चुनाव चिह्न लिई चुनावी मैदानमा उत्रिएका चार पार्टीको संयुक्त समूहलाई एमालेका लीलाकुमार चौहानको एक्लो प्यानलले पराजित गरेको हो । मत परिणामअनुसार एमालेका उम्मेदवार चौहान रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडाको वडाध्यक्षमा निर्वाचित भएका छन् ।
एमालेका चौहान, बलिरत्न राई, हरि चाम्लिङ, दिलशोभा राई र मसिनी दाहाल सार्कीको समूह विजयी भएको हो । सो वडामा काँग्रेस, माओवादी केन्द्र, सङ्घीय समाजवादी र नयाँ शक्ति कांग्रेसको चुनाव चिह्न रुखबाट चुनाव लडेको थियो ।
माओवादी केन्द्र, सङ्घीय समाजवादी र नयाँ शक्तिले फरक पार्टीको चुनाव चिह्न देखाएर चुनावमा होमिएको विषयलाई चासोका साथ हेरिएको थियो । उम्मेदवार चौहानको घरमा असार ६ गते राति सुतली बम विस्फोट गराइएको थियो । विस्फोटमा चौहानकी बुहारी घाइते भएका थिए । उम्मेदवारको घरमा बम विस्फोट भएपछि जिल्लावासीमा ध्यान झनै चिउरीडाँडामा तानिएको थियो ।
केपिलासगढी गापा प्रमुख र उपप्रमुखमा एमाले विजयी
केपिलासगढी गाउँपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेका कृष्णकुमार राईले १ हजार ८०६ मत प्राप्त गरि प्रमुखमा निर्वाचित भएक छन् । यसैगरि १ हजार ७७४ मत प्राप्त गरि उपप्रमुखमा कृष्णकुमारी वन निर्वाचित भएकी छन् ।
निर्वाचित अध्यक्ष राईको निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार समीर राईले १ हजार ५११ मत प्राप्त गरेका छन् । यसैगरि १ हजार ३६६ मत प्राप्त गरेका माओवादी केन्द्रका उपप्रमुख रुद्रकुमार राईलाई पछि पार्दै वन उपप्रमुखमा निर्वाचित भएका हुन् ।
७ वटा वडा रहेको उक्त गाउँपालिकाको वडाध्यक्षमा वडा नं १ मा एमालेका वीरबहादुर तामाङ, २ मा कांग्रेसका बलिराज राई, ३ मा एमालेका खगेन्द्र गुरुङ, ४ मा कांग्रेसका गणेश अधिकारी, ५ मा एमालेका खगेन्द्र राई, ६ मा एमालेका अशोककुमार राई र ७ मा माओवादी केन्द्रका तेजकुमार राई विजयी भएका छन् । उक्त गाउँपालिकामा काँग्रेस, एमाले, माओवादी केन्द्र र संघीय समाजवादी पार्टीले प्रतिस्पर्धा गरेको थियो । रासस
प्रतिक्रिया