१४ माघ २०८२, मंगलबार | Tue Jan 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भएकाे एम्बुलेन्स प्रयाेग बिहिन, स्ट्रेचरमा बिरामी बोक्नुपर्ने बाध्यता



 

मानदत्त रावल
असोज १२, जुम्ला ।

हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस बिरामी पर्दा स्ट्रेचरको विकल्प हटेको छैन । भौगोलिक रूपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा पाउँन नसक्नुका साथै बिरामीलाई स्ट्रेचरमै बोकेर स्वास्थ्य संस्थामा पु¥याउने र ल्याउने गर्दै आएका छन् ।

ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मी कार्यालय समयसम्म नबस्ने समस्या नौलो होइन, १ देखि ४ घण्टा पैदल हिँडेर स्वास्थ्य संस्था पुग्दासमेत यहाँका बासिन्दालाई उपचार पाउन कठिन भएको छ ।

पातारासी गाउँपालिका तल्लो लोर्प गाउँका कर्ण बोहोराकी छोरी अघिल्लो महिना बिरामी परिन् पहिरोले सडक अवरुद्ध हुँदा एम्बुलेन्स सञ्चालन नभएपछि स्ट्रेचर मै स्वास्थ्य चौकी उर्थु चौतारामा पु¥याउन उनी बाध्य भए । दुई दिनको उपचारपछि स्ट्रेचरमै हिलाम्मे बाटो छिचोल्दै पुनः घर ल्याउनु परेको थियो ।

स्थानीय तहले थुप्रो राक खर्च गरी डोजर लगाएर सडक खने पनि स्ट्रेचरको विकल्प नहटेको यहाँका बासिन्दाको गुनासो छ । लाखौँ खर्च गरेर ल्याएको एम्बुलेन्सले यहाँका बासिन्दाको समस्या टार्न नसकेको गुनासो गर्दै स्थानीयवासी पूर्णबहादुर बुढाले भने, “कोही बिरामी पर्दा गाउँका युवा गुहार्नु पर्छ तर अधिकांश युवा कामका लागि विदेश र पढ्नका लागि जिल्ला बाहिर गएका कारण गाउँमा उनीहरूको उपस्थिति पातलो छ ।”

उक्त गाउँपालिकालाई भारतीय दूतावासले उपलब्ध गराएको एम्बुलेन्स अहिले प्रयोगविहीन अवस्थामा छ । बिरामी मात्रै होइन दैनिक उपभोग्य वस्तु आयात गर्न पनि खच्चड प्रयोग गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ ।

पातारासी गाउँपालिकाले भौतिक पूर्वाधारमा गत आर्थिक वर्षमा करोडौँ रकम खर्च गरिसकेको छ । उर्थुदेखि पेरेसम्मको सडकका लागि छुट्याइएको २५ लाख बजेटमा २३ लाख खर्च भइसकेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मी बोहोराका अनुसार वर्षाद्को पहिरोले सडक लथालिङ्ग बनायो, अहिले सवारी साधन बन्द छन् । अब वर्षा रोकिँदै गएकाले पहिरो पन्छाएर सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ ।

दिउँसै बन्द हुन्छन् स्वास्थ्य चौकी

सरकारी कार्यालय १० देखि ५ बजेसम्म खोल्ने अनिवार्य नियम हो, तर जुम्लामा त्यो नियम लागू छैन । दिउँसै स्वास्थ्य संस्था बन्द हुने यहाँको परम्परा जस्तै छ ।

तिला गाउँपालिका ५ मा रहेको सामुदायिक संस्था केन्द्र कहिल्यै पनि कार्यालय समयसम्म नखुल्ने ढिमकोटका गोर्ख शाहीले बताए । कार्यालयमा एउटै मात्र कर्मचारी रहेका र ती पनि मन लागे कार्यालयमा आउने अरू बेला नआउने गरेको उनको भनाइ थियो ।

सदरमुकाममा रहेका स्वास्थ्य संस्थाको पनि हालत उस्तै छ । चन्दननाथ नगरपालिका ८ मा रहेको तलिउम स्वास्थ्य चौकी पनि १ बजेपछि दैनिक बन्द हुने गरेको स्थानीय सम्राट परियारले बताए । उनले भने, “उपचारका लागि स्वास्थ्यकर्मी नै भेटिँदैनन, भेटिहालेमा कहिले औषधि अभाव, अहिले सम्बन्धित मान्छे हुनुहुन्न भन्ने गर्छन् ।”

छिटै स्वास्थ्य चौकी बन्द हुने गरेपछि आम नागरिक पनि २ बजेपछि स्वास्थ्य संस्थामा उपचारका लागि नआउने गरेको नागरिक अगुवा शोभाकर विश्वकर्माले बताए । उनले भने, “राज्यले अनिवार्य ५ बजेसम्म कार्यालय वा स्वास्थ्य संस्था खोल्ने निर्देशन त गरेको छ तर उक्त निर्देशनलाई लत्याउदै २ नबज्दै स्वास्थ्य चौकीका ढोका बन्द गर्ने गर्दछन् ।”
रासस

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार ००:००