८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोहोर सङ्कलन नहुँदा ताप्लेजुङ सदरमुकाम दुर्गन्धित



सन्तोष पुर्कुटीः
ताप्लेजुङ, ७ वैशाख । नियमित फोहोर संकलन नहुँदा ताप्लेजुङ सदरमुकाम दुर्गन्धित बन्दै गएको छ । सदरमुकामभित्रका घर, पसलअगाडि फोहोरका थुप्रा बढ्दै गएका छन् भने सार्वजनिक ठाँउमा समेत फोहोर थुप्रिदै गएको छ ।

बजार क्षेत्रका तरकारी तथा फलफूल पसलमा बेच्न राखिएका खाद्य वस्तुसंगै जोडेर फोहोरले भरिएका बोरा राख्न थालिएको छ भने जिल्ला समन्वय समितिको कार्यालयकै छेउमा फोहोर सडेर दुर्गन्ध आउन थालेको छ ।

दैनिक दर्जनौँ सवारीसाधन पार्किङ गरिँदै आएको तोक्मे स्थित बसपार्क वरिपरिबाट फालिएको फोहोरले भरिएको छ । यात्रुले प्रयोग गरेका प्लास्टिकजन्य वस्तु यत्रतत्र छरिएर छन् । सडकका पेटीमा वारपार फोहोर भरिएका बोरा राखिएको छ भने बजार बीचमा फोहोर जलाउने गरिएकाले धुवाँधुलो समेत बढ्दै गएको छ ।

करिब तीन महिनादेखि फोहोर संकलन नभएको गुनासो गर्दै तोक्मे बजारका व्यापारी घनश्याम तिमल्सिनाले फोहोरले आफ्नै पसलको स्टोर भरिएपछि नजिकै लगेर जलाएको बताए ।

यसरी बढ्दै गएको फोहोरका कारण स्थानीयवासी त मारमा परेका छन् नै, दैनिक सयौँको संख्यामा पाथीभरा जाने तीर्थयात्री एवं पर्यटकले समेत फोहोरको समस्या बेहोर्न बाध्य बनेका छन् । महिनैपिच्छे फरक फरक ब्यक्ति फोहोर संकलनको पैसा माग्न आउँने तर नियमित फोहोर संकलन नहुने गरेको स्थानीयवासीको गुनासो छ ।

भएको एउटा टिपर पनि थन्क्याएर वसेको नगरपलिका कार्यालय भने स्थानीयले पैसा नदिएर समस्या भएको बताउछ । नगरपालिका सूचना अधिकारी बिमला थापाले फोहोर संकलनका लागि जिम्मा दिएर खटाएको ब्यक्तिलार्इ स्थानीयवासीले पैसा नतिरेपछि समस्या भएको बताउछिन ।

विभिन्न समयमा केही ब्यक्तिलार्इ ठेक्का दिएको तर मासिक फोहोर संकलन गरेबापत बुझाउनुपर्ने शुल्क स्थानीयवासीले नबुझाएपछि नियमित फोहोर संकलन नभएको थापाको भनाइ छ । अहिले पनि एक स्थानीयवासीलाई तीन दिनदेखि फोहोर संकलनका लागि जिम्मा दिएको थापाले बताएता पनि बजार क्षेत्रमा फोहोर उठ्न सकेको छैन ।

नगरपालिका कार्यालयसंग फोहोर संकलनका लागि एउटा टिपर भए पनि टुविल मात्रै भएकाले कच्चीमा गुडाउन समस्या भएको बताइएको छ । कच्ची रोडमा नजाने भएपछि सो टिपर पनि कमै मात्र प्रयोग हुने गरको छ ।

अर्कातिर ड्राइभर नहुँदा थप समस्या छ । एक वर्षअघि नै सो टिपर फोहोर संकलनका लागि खरिद गरिएको थापाले बताइन् । यता फोहोरकै थुप्रोअघि बस्न बाध्य बनेका स्थानीयवासीले भने नगरपालिकाको कार्यालयले फोहोर संकलन तथा व्यवस्थापनमा गम्भीरता नदेखाएकाले समस्या बढ्दै गएको आरोप लगाएका छन् । रासस

प्रकाशित मिति : ७ बैशाख २०७४, बिहिबार ००:००