६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमदत्त नगरपालिकाको ताराकाेटमा ५ तले भ्यू–टावर निर्माण हुने



२२ वैशाख, कञ्चनपुर ।
भीमदत्त नगरपालिका ९ मटेनास्थित चुरे क्षेत्रमा पर्ने ताराकोटमा ५ तले भ्यू–टावर निर्माण हुने भएको छ । चालु आर्थिक वर्षमै भ्यू–टावर निर्माण गर्ने योजनाकासाथ नगरपालिकाले परामर्शदाता नियुक्त गरी यसको सम्भाव्यता अध्ययन गराएको थियो ।

उक्त अध्ययन प्रतिवेदन कार्यालयलाई बुझाइसकेको नगरपालिकाका इञ्जिनियर हिमालय सिंह ऐरले बताए । ५ तले भ्यू–टावर निर्माणका लागि १ करोड ६८ लाख खर्च हुने अनुमान गरिएको छ । बजेट बढी भएकाले संशोधनका लागि परामर्शदातालाई आग्रह गरिएको छ ।

धार्मिक पर्यटकीय क्षेत्र झिलमिला तालसम्म सडक कालोपत्र पुग्ने भएपछि दर्शनार्थी र पर्यटकलाई दृष्यावलोकनका लागि भ्यू–टावर बनाउन लागिएको हो ।

सघन शहरी विकास कार्यक्रम अन्तर्गत मटेनाबाट ताराकोटसम्मको सडकलाई कालोपत्रे बनाउन थालिएको छ । मटेनाबाट ताराकोट साढे ९ किलोमिटर छ । तीमध्ये पहिलो चरणमा मटेनाबाट ताराकोट नजिक सुगर खालीसम्मको पाँच किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो ।

इञ्जिनियर ऐरका अनुसार ५ तले भ्यू–टावरसहित शौचालय निर्माण हुने परामर्शदाताको प्रतिवेदनमा उल्लेख छ । ताराकोटबाट तालसम्म पुग्न ४०० मिटर हिँड्नु पर्नेछ । ताराकोटबाट तालसम्म पुग्न सिंढीहरु निर्माण गरिने छन् ।

भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले ब्रह्मदेवदेखि रौटेलासम्म धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका हुन् ।

राटेलादेखि ब्रह्मदेवसम्म जैविक धार्मिक पर्यटकीय मार्ग निर्माण गरी झिलमिला, ब्रह्मदेव, भम्केनीधाम, विष्णु मन्दिर साकेत धाम र रौटेलाको विकास गर्ने लक्ष्य राखेर पूर्वाधार निर्माणका कार्य गरिएका छन् ।
रासस

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार ००:००