१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘नगरप्रमुखमा उठ्ने मन छ, तर पार्टीले उपप्रमुखमा उठ् भन्छ’



चन्द्रकला भण्डारी

काँकडभिट्टा, झापा।

झापाको मेचीनगरका महिला नेतृले नगरप्रमुखमा उम्मेदवारी दिने प्रवल इच्छा जनाए पनि आफू सम्बद्ध राजनीतिक दलले भने उपप्रमुखमा मात्र उम्मेदवार बन्न दबाब दिएको गुनासो गरेका छन् ।

विभिन्न दलमा आबद्ध रहेर लामो समयदेखि राजनीतिक क्षेत्रमा योगदान पुर्याइरहेका सक्षम महिला नेत्री भए पनि पुरुषलाई मात्र प्रमुखको पदमा पुर्याउने उद्देश्यले महिलालाई उपप्रमुखमा सीमित पार्ने प्रयास भइरहेको उनीहरुको आरोप छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेचीनगरको प्रमुखमा उम्मेदवारी दिने सोचाइ बनाएकी सविना बजगाईंलाई पार्टीले उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीभित्र प्रशस्त महिला नेतृ हुँदाहुँदै राप्रपाको हालै सम्पन्न नगर समितिको बैठकले प्रमुखमा अशोक सुब्बा र उपप्रमुखमा सविना बजगाईंलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

‘मैले त प्रमुखमा नै उठ्छु भन्दै आएकी थिएँ’, राप्रपाबाट उपप्रमुखका लागि चयन भइसकेकी बजगाईं भन्छिन, ‘‘म काठमाण्डौंमा थिएँ, यता उपप्रमुखमा मेरो उम्मेदवारी तय गरिएछ ।’’

राप्रपा मात्र होइन, नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र जस्ता मुख्य राजनीतिक दलले महिलालाई उपप्रमुखमै सीमित बनाउने तयारी गरिरहेका छन् । महिलालाई प्रमुख पदको जिम्मेवारी नदिने दलहरुको योजनाप्रति सबै दलका महिला असन्तुष्ट छन् ।

नेकपा माओवादी केन्द्रकी जिल्ला तहकी नेतृ इन्दिरा कार्की भण्डारीले आफू मेचीनगरको प्रमुख पदमा पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक रहेको कुरा पार्टीमा जानकारी गराइसकेको बताउछिन ।

माओवादीकै सङ्घर्ष र एजेन्डाबाट सिंहदरबारको अधिकार गाउँ तहसम्म आएपनि महिला आफैँले पनि अधिकार नखोजेसम्म अरुले नदिने उनके धारणा छ । तर पार्टीमा उपप्रमुखमा महिला र प्रमुखमा पुरुषलाई नै उम्मेदवार बनाउने चर्चा छ ।

माओवादी केन्द्रबाट मेचीनगरको प्रमुखमा प्रकाश भण्डारी, माधव अर्याल र हंशलाल राजवंशी मध्येबाट एकजना उम्मेदवार बन्ने चर्चा छ ।

नेपाली कांग्रेसकी नगर नेतृ दुर्गा खतिवडा महिला हरेक किसिमले प्रमुखको पद सम्हाल्न सक्षम भइसके पनि दलहरुले उपप्रमुखमा जाउ भनेर दबाब सिर्जना गरिहेको गुनासो गर्छिन ।

खतिवडाले प्रमुखमा महिलालाई नदिने बुझेर पार्टीको उम्मेदवारी घोषणा कार्यक्रममा उपप्रमुखको आकांक्षीको रुपमा आफ्नो नाम लेखाएकी छन् ।

‘मन त प्रमुखकै उम्मेदवार बन्ने थियो’, नेपाली काँग्रेसबाट मेचीनगरमा उपप्रमुखको सम्भावित उम्मेदवारको चर्चामा अग्रपङ्तिमा रहेकी उनी भन्छिन ‘‘प्रमुखमा नदिने भनेपछि उपप्रमुखमा नाम लेखाउन बाध्य भएकी हुँ ।”

नेकपा एमालेकी जिल्ला सचिवालय सदस्य मीना उप्रेती पनि मेचीनगरको प्रमुख पदमा उम्मेदवार बन्न इच्छुक रहेको बताउछिन तर पार्टीमा पुरुष सर्वसत्तावादी सोच नहटेका कारण महिलाले प्रमुखको टिकट पाउलान् भन्नेमा आफैलाई विश्वास नलागेको उनको भनाइ छ ।

नयाँ शक्ति पार्टीकी केन्द्रीय परिषद् सदस्य पनिता अधिकारीले पनि मेचीनगरको प्रमुख पदमा आफूले पार्टीमा उम्मेदवारीको अपेक्षा गरेको बताउछिन । हालसम्म पार्टीले प्रमुखमा उनकै नाम चर्चामा ल्याइरहेको छ ।

जनसंख्याको दृष्टिले मेचीनगर झापा जिल्लाको सबैभन्दा ठूलो नगर हो । यहाँ १५ वडा छन् । मुख्य राजनीतिक दलले वडाको अध्यक्षमा समेत महिला उम्मेदवारको चर्चा गरिरहेका छैनन् । एमालेबाट रेणुका डाँगी, काँग्रेसबाट डम्बरकुमारी थापा मगर र जानुका ओली लगायतले स्वयम् वडाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरिसकेका छन् तर पार्टीको निर्णय आउन बाँकी नै छ ।

स्थानीय तह चुनावमा दलहरुले प्रमुख र उपप्रमुखमध्ये एउटा पदमा महिला उम्मेदवार बनाउनै पर्ने कानुनी व्यवस्था छ तर महिला उम्मेदवारलाई प्रमुख र उपप्रमुख दुबै पदमा हराउने गरी पुरुष उम्मेदवारले तिकडम गर्न सक्नेतर्फ सचेत हुनुपर्ने महिला नेतृहरु बताउछन् ।

‘‘विभिन्न दलहरुले भित्री साठगाँठ गरेर महिला उम्मेदवार उठाइदिने अनि हराइदिने गर्न सक्छन्’’, नयाँ शक्ति पार्टीबाट प्रमुख पदको दाबी गरिरहेकी पनिता अधिकारीको आशङ्का छ ।

महिलाको इच्छा विपरीत उम्मेदवार बनाउने कार्य दलहरुले गर्नु एक प्रकारको महिला हिंसा नै मानिनुपर्ने सामाजिक विश्लेषक सागर शिवाकोटीको छ ।

‘कानुनले नगरको प्रमुख र उपप्रमुखमध्ये एउटामा उम्मेदवार बनाउनैपर्ने भनेको हो’, प्रमुखको उम्मेदवार बन्न नदिने दलहरुको चिन्तनको विरोध गर्दै शिवाकोटी भन्छन् “त्यसको अर्थ प्रमुखमा महिलालाई दिनै पर्दैन भन्ने होइन ।”

दलहरुले नारा, घोषणापत्र र प्रतिबद्धता पत्रमा महिलालाई धेरै अधिकार दिने भन्ने गरेपनि उनीहरुको चिन्तन र व्यवहारमा पितृसत्तात्मक सामन्ती सोच हाबी रहेको महिलावर्गको साझा ठम्याइ छ । रासस

प्रकाशित मिति : २७ चैत्र २०७३, आइतबार ००:००