१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय निर्वाचन एकै चरणमा हुनुपर्ने कांग्रेसको अडान



भीष्मराज ओझा

काठमाडौँ, २५ चैत 

मधेसको समस्या समाधान गर्न स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिन्छ कि भन्ने चर्चा चलिरहेका बेला नेपाली कांग्रेसले एकै चरणमा हुनुपर्ने बताएको छ ।

स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी र घोषणापत्र बारे सुझाव लिन कांग्रेसले शुक्रबार आयोजना गरेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताले सो धारणा राखेका हुन् ।

बैठकमा अधिकांश केन्द्रीय सदस्य र सांसदले मुलुकमा निर्वाचन हुन नदिने योजनाका साथ दुई चरणमा निर्वाचन गर्ने कुरा चर्चामा ल्याइएको दाबी गरेका थिए ।

केन्द्रीय सदस्य तथा सांसद रामकृष्ण यादवले संशोधनमार्फत संविधानको स्वीकार्यता बढाएर एकै चरणमा निर्वाचन हुनुपर्ने धारणा राखेका थिए ।

सांसद रामहरि खतिवडाले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गरी निर्वाचनमा सबै सहभागी हुने वातावरण बनाउनु पर्ने बताए । त्यसका लागि संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लानु पर्ने बताए ।

बैठकमा सहभागी नेताहरूले दुई चरणको निर्वाचन प्रस्ताव सत्ता लम्ब्याउने मनशायका साथ आएको हुन सक्ने आशंका गरेका थिए ।

पार्टीका नेता तथा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले विगतको घोषणापत्र, पार्टीको पछिल्लो महाधिवेशनले पारित गरेको दस्तावेज र स्थानीय आवश्यकताका मुद्दाका आधारमा घोषणापत्र बनाउनु पर्ने धारणा राखेका थिए ।

मन्त्री केसीले समग्र राष्ट्रियता बलियो बनाउन मधेसका माग सम्बोधन गर्नुपर्ने र निर्वाचनमा सबैले सहभागिता जनाउने वातावरण बनाउनुपर्ने बताए ।

घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले कांग्रेसले मुलुकका हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको बताए । मुलुकमा आइपरेका हरेक संकटको समाधान कांग्रेसले नै गरेको र मधेशको समस्या हल गर्न पनि आफ्नो पार्टीले अगुवाई गरिरहेको बताए ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएको मितिमा निर्वाचन हुनेमा आशङ्का नगर्न सबै नेता, कार्यकर्तालाई आग्रह गरे । दुवै नेताले पार्टी पंक्तिलाई एकढिक्का भएर निर्वाचनमा होमिन निर्देशन दिए । रासस

प्रकाशित मिति : २५ चैत्र २०७३, शुक्रबार ००:००