१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक निर्माण संगै पदमार्ग मासियो



२२ फागुन, तेह्रथुम ।

एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा जथाभावी सडक निर्माण गरिएपछि पदमार्ग प्रभावित भएको छ ।

तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको गुफाबजार हुँदै ताप्लेजुङको दोभान सम्मको पदमार्ग मासेर सडक निर्माण गरिएको छ । यसले गर्दा पदमार्ग भएर आउने पर्यटक प्रभावित भएका छन् । सडक विस्तारसंगै पर्यटकीय यो क्षेत्र ओझेलमा पर्न थालेको छ ।

नेपाल पर्यटन बोर्डले नेपालका पाँच उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलमध्येमा सूचीकृत गरेको यो क्षेत्र यति बेला सडक विस्तारका कारण क्षतविक्षत भएको छ । गुराँस संरक्षण क्षेत्रका रूपमा विकास गर्न सरकारले लामो समयदेखि अध्ययन गरिरहेको टीएमजे क्षेत्रको महत्वपूर्ण पदमार्ग सडक मार्गका कारण मासिएको छ ।

यसअघि प्रयोगमा आइरहेको पदमार्गलाई मास्दा पर्यटन प्रभावित बनेको पर्यटन विकास तथा प्रवर्द्धन समितिका सदस्य प्रकाश श्रेष्ठले बताए । वर्षको छ महिना कुमारी रहने टीएमजे क्षेत्रको पदमार्ग निर्माणाधीन वसन्तपुर–गुफा हुँदै ताप्लेजुङको दोभान जोड्ने सडकका कारण कुरुप बनेको उनको भनाइ छ । यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले निर्माणाधीन सडकका कारण अन्यत्रैबाट ओहोरदोहोर गर्न थालेका छन् ।

एउटै उचाइको रमणीय यो पदमार्ग पछिल्लो समय सडक मार्गका कारण संकटमा परेको पदमार्गमा रहेको चौकीबजारका होटल व्यवसायी उदकुमार लोले बताए  । यो पदमार्गको वसन्तपुरदेखि गुफा हुँदै साँघुसम्म साना सवारी सञ्चालन हुन थालेका छन् ।
रासस

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलबार ००:००