५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पानीका लागि कुवा संरक्षणमा लागे स्थानीय तह जनप्रतिनिधि



२१ फागुन, डडेल्धुरा ।

जिल्लाका विभिन्न स्थानमा खानेपानीका लागि प्राचीनकालीन, धार्मिक तथा ऐतिहासिक कुवाको सरंक्षणमा स्थानीय तहका जनप्रतिनिधि लागिपरेका छन् ।

सुक्खा मौसमको शुरुवात्संगै जिल्लाका विभिन्न स्थानमा पानीका मूल सुक्ने समस्या बढ्दै गएकाबेला स्थानीय जनप्रतिनिधि भने कुवाको संरक्षण र संवर्द्धनमा जुटेका हुन् ।

अजयमेरु गाउँपालिका ४ चिपुर र ५, ६ देवलका विभिन्न गाउँमा रहेका कुवालाई पानीका लागि मर्मत गरिरहेको चिपुरका दिनेश भाटले बताए । अन्य मूल सुक्न थालेपछि गाउँमा पानीको समस्या हुन नदिन परापूर्वकालमा निर्माण भएका कुवालाई संरक्षण गरी धार्मिक महत्वलाई समेत जोगाउन गाउँपालिका लागिपरेको अजयमेरु गाउँपालिकाका प्रशासनिक अधिकृत खेमराज पौडेलले बताए ।

जिल्लाभरि पुरानो कला र शैलीमा निर्माण भएका कुवामा मौसम अनुकूलको पानी आउने र तिनीहरुको संरक्षण मर्मत सम्भार गर्न सके दूरदराजका गाउँमा पानीको हाहाकार नहुने नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष डम्बरी ओली बताउछिन् । हिउँदमा तातो पानी र गर्मीमा चिसो पानी पाइने भएकाले सधैँ कुवाको पानी प्रयोग गर्ने गरेको अजयमेरु गाउँपालिका १ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले जनाए ।

वडा तथा गाउँपालिकाको थोरै बजेटले पनि कुवा मर्मत गर्न सकिने भएकाले जिल्लाभरि रहेका कुवाको जगेर्ना गरिनुपर्ने स्थानीयवासीको माग छ । खानेपानीका योजना लागू हुनुभन्दा पहिले सबैले पानीका लागि कुवा नै प्रयोग गर्दै आएका भए पनि पछिल्लो समय गाउँमा खानेपानी योजना आएसंगै कुवा जीर्ण बन्दै गएका छन् ।

अजयमेरु गाउँपालिकाका कतिपय स्थानका कुवा लोप भएका छन् । अहिले जीर्ण अवस्थामा रहेका कुवाको संरक्षण गर्न शुरु गरिएको गाउँपालिकाका अध्यक्ष उमेश भट्टले बताए । जिल्लाका विभिन्न गाउँमा निर्माण गरिएका खानेपानीका योजना वर्षदिन नपुग्दै मूल सुकेरजाने समस्या देखिएपनि सदियौँदेखिका कुवा मर्मत नहुँदा जीर्ण अवस्थामा छन् ।

भागेश्वर गाउँपालिकाको रुपाल भागेश्वर र बगरकोटका गाउँमा रहेका कुवा संरक्षणका लागि काम अगाडि बढाइएको गाउँपालिकाकी अध्यक्ष कौशिला भट्टले बताइन् । पानी सधैँ पाइने भएकाले कुवा संरक्षण जरुरी रहेको उनको भनाइ छ । जिल्लाका रुपाल, भागेश्वर, समैजी, अजयमेरु, कोटेली, नवदुर्गा, देवल, भद्रपुर र अमरगढी नगरपालिकाभित्र कुवा जिर्ण अवस्थामा छन् ।
रासस

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार ००:००