२५ जेष्ठ २०८०, बिहिबार | Fri Jun 9 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टीकापुरमा बायोग्याँस प्लान्टः फोहोर मोहोर मात्र होइन, धेरै थोक हो

अहिले टीकापुरको वडा नं. १ र २ का ५५ घरलाई सस्तो दरमा ग्याँस बितरण गर्न थालिएकाे छ ।



कैलाली । धेरै जनसंख्या भएको नगरपालिकाहरूका लागी फोहोर व्यवस्थापन टाउको दुखाईको बिषय बनिरहेको छ । देशभरका २ सय २९ मध्ये अधिकांश नगरपालिकामा डम्पिङ साईट छैन ।

डम्पिङ साईट भएका नगरपालिकाहरूले पनि उचित तवरले फोहोर व्यवस्थापन गर्न सकेका छैनन् ।

तर कैलालीको टीकापुर नगरपालिकाले भने फोहोर व्यवस्थापन गरि ग्याँस उत्पादन गरिरहेको छ । साथै प्रांगारिक मल पनि उत्पादन गर्न थालेको छ ।

नगरपालिकाले वडा नं. ५ मा २ सय घनमिटर क्षमताको बायोग्याँस प्लान्टको निर्माण गरेको छ । यस प्लान्टबाट अहिले ५५ घरधुरीले खाना पकाउने ग्याँस उपभोग गरिरहेका छन् ।

“१ सय १० घरधुरीलाई प्लान्टबाट निस्किएको ग्याँस बितरण गर्ने लक्ष्य राखिएको छ । अहिले टीकापुरको वडा नं. १ र २ का ५५ घरलाई सस्तो दरमा ग्याँस बितरण गर्न थालिएकाे छ,” नगपालिकाका इञ्जिनियर नवराज जोशीले भने, “साथै, प्राङ्गारिक मल उत्पादन गर्न कुहिने र नकुहिने फोहोर छुट्याउने सेड बनाएका छौँ । डस्वीनहरूको टेन्डर गरिसकिएको छ । फोहोर बोक्ने ट्रक खरिद भइसकेको छ ।”

यसैगरि बेबारिसे छाडा पशु चौपायका लागी ‘सामुदायिक चौपाय केन्द्र’ को निर्माण पनि थालिएको छ । केन्द्रबाट निस्किएको गोबर र गहुँतलाई पनि प्लान्टमा जडान गरिएको छ । नगरपालिकाले पशु चौपाय छाडा छोड्नेको पहिचान गरि जरिवाना पनि गर्न थालेको छ ।

टीकापुर नगरपालिकामा सबैभन्दा धेरै जनसंख्या भएको ठाउँ वडा नं. २ हो । त्यसबहेक अहिले वडा नं. १ को पनि फोहोर प्लान्टले व्यवस्थापन गरिरहेको छ । भविष्यमा अरू वडाहरूको पनि फोहोर व्यवस्थापन गर्ने जोशीले जानकारी दिए ।

“बायोग्याँसको उत्पादन र प्रयोगले काठ दाउराको खपतबाट हुने वातावरणीय क्षतिलाई न्यून गरेको छ । सिलिन्डरको ग्याँस किन्न पैसा बाहिरने क्रम न्यून भएको छ । चुल्होमा काम गर्ने महिलाहरूलाई सहज भएको छ,” जोशीले भने, “वायोग्याँस प्लन्टले फोहोर व्यवस्थापन, वातावरण संरक्षण, गरिबी निवारण, छाडा पशु चौपाय व्यवस्थापनमार्फत दुर्घटना न्यूनीकरणको प्रयासलाई सहयोग पु-याइरहेको छ ।”

यसअघि फोहोर व्यवस्थापनमार्फत बायोग्याँस र प्राङ्गारिक मल उत्पादन गर्न नगरपालिका र वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र (एईपीसी) ले उक्त प्लान्ट स्थापना गरेको थियो । उक्त प्लान्टलाई दीगो राख्न भने प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको नवप्रर्वतन साझेदारी कोष (आईपीएफ)ले सहयोग गरेको छ ।

प्लान्टमा नगरपालिका र आईपीएफले २ करोड १४ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

प्लान्ट एक, फाईदा अनेक

टीकापुरको बायोग्याँस प्लन्टमा अहिले दैनिक २ हजार केजीसम्म फोहोर व्यवस्थापन हुँदै आएको छ । यो प्लान्ट मात्रै थिएन भने दैनिक २ टनका दरले बार्षिक ७ सय टनभन्दा बढी फोहोर थुप्रिने थियो ।

व्यवस्थापन नै नभए पछि कुहिने र नकुहिने फोहोर छुट्टिने अवस्था रहँदैन थियो । यसले स्थानीयवासीको स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने निश्चित थियो ।

प्लान्ट सञ्चालन पछि फोहोर व्यवस्थापन त भएको छ नै, त्यो सँगै भान्छामा दाउराको सट्टा ग्याँस प्रयोग हुन थालेको छ ।

यसले वतावरण संरक्षणमा योगदान दिएको छ भने भान्छामा काम गर्ने महिलाको स्वास्थ्यमा सकरात्मक प्रभाव देखिँदैछ । यसैगरि सिलिन्डरको ग्याँस किन्ने बाध्यता हटेको छ, जसले भान्छको ग्याँसका लागी टीकापुरबाट पैसा बाहिरिनेक्रम घटेको छ ।

आयोजनाले बजार क्षेत्रमा छाडा पशु चौपाय व्यवस्थापन गरि दुर्घटना र ट्राफिक जाम न्यूनीकरण गर्न सफल भएको छ । साथै सामुदायिक चौपाय केन्द्रबाट निस्किएको गोबर र गहुँतलाई समेत प्लान्टमा प्रयोग गरिएको छ ।

“एउटै प्लान्टबाट धेरैभन्दा धेरै फाईदा लिन सक्ने भएकाले यो प्लान्टलाई नवप्रर्वतनकारी आयोजना घोषणा गरिएको हो,” जोशीले भने ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार ००:००