६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी अभियानमार्फत मुलुकलाई समृद्ध बनाउन सरोकारवालाहरूको जोड



काठमाडौं । मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरूको धारणा छ ।

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा सुरू भएको दुई दिने ‘नेशनल युथ फोरम’को उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेकाले अब आर्थिक र मानसिक सन्तुष्टिको समृद्धि हुनु पर्ने बताए ।

मन्त्री पौडेलले विदेशमा जाँदा मात्र राम्रो हुने, विदेशमा मात्रै सफल हुन्छ भन्ने मानसिकता अन्त्य गर्दै नेपालमै सम्भावना खोज्नु पर्नेमा जोड दिए । पौडेले भने, “ढिला भए पनि मुलुकमा विकास हुँदैछ । पूर्वाधार निर्माण भइरहेको छ । दिगो विकासको लक्ष्य अघि बढाइएको छ । समृद्धिका लागि युवाहरूले स्वदेशमै सम्भावना खोज्नु पर्छ ।”

संविधानले परिकल्पना गरेको तीन खम्बे अर्थनीतिमा सहकारी एउटा खम्बा भएको हुँदा दिगो विकास लक्ष्यका साथै समूहगत रुपमा युवाहरू लाग्न पौडेलले आग्रह गरे ।

सहकारीमा आबद्ध युवाहरूलाई प्रोत्साहित गर्दै मन्त्री पौडेलले लगानी गर्न नडराउन आव्हान गरे । संविधानले अर्थतन्त्रको आधार स्वीकार गरिएको सार्वजनिक, निजी, सहकारी क्षेत्रले एक आपसमा सहकार्य गरेर अघि बढ्नु पर्नेमा पौडेलले जोड दिए ।

राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष तथा संविधान सभाकी सदस्य ओमदेवी मल्लले सहकारीमार्फत नेपाली युवाहरू अन्तराष्ट्रियस्तरमा आफ्नो पहिचान स्थापित गर्दै गएकाले सहकारी मुलुक समेद्धिका आधार स्तम्भ भएको बताइन् ।

अन्तराष्ट्रिय सहकारी महासंघमा पनि युवाहरूको सहभागिता बढ्दै गएको जानकारी दिंदै उनले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्नुपर्ने बताइन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले देशको सबै तहको विकास र समृद्धिका लागि सहकारी मोडेल महत्वपूर्ण हुने बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरूलाई उद्यमशिलता जोड्न सके समृद्ध नेपालको निर्माणमा सहयोग पुग्ने धारणा राखे ।

सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले अब सहकारीविना उत्पादन क्षेत्र अघि बढ्न नसक्ने भन्दै उत्पादन वृद्धिका लागि सहकारी क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरे । दवाडीले युवाहरुलाई आफ्नो अधिकारका लागि सक्रिय हुन समेत सुझाव दिए ।

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ् सुब्बाले सहकारी क्षेत्रको अबको फोकस उद्यमशीलता भएको बताइन् । सुब्बाले अभियानलाई दिगो र मर्यादित बनाउन युवाहरूको सक्रिय सहभागिता आवश्यक भएको बताइन् ।

सुब्बााले सहकारी क्षेत्रमा करिब ३० प्रतिशत युवा सहभागिता रहेको आँकडा प्रस्तुत गर्दै युवा सहभागिताले नै सहकारीलाई मर्यादित र प्रविधिमैत्री बनाउने दाबी गरिन् ।

सहकारी महासंघका पूर्वअध्यक्ष केशव प्रसाद बडालले सबै क्षेत्रमा सहकारीले काम गर्न पाउने गरी कानुनी व्यवस्था गर्न आग्रह गरे ।

राष्ट्रिय सहकारी महासंघ युवा समन्वय उपसमितिका संयोजक तथा संचालक सागर ढकालले युवाहरुलाई उद्यमशिल बनाउनका लागि सहकारी उपयुक्त मोडल भएको बताए ।

सहकारीमार्फत धेरै युवाहरूले पुँजी संकलन गरेर व्यवसाय गर्न सक्ने भए पनि अहिलेसम्म राज्यले त्यो वातावरण नबनाएको ढकालको दुखेसो छ ।

शनिबारसम्म चल्ने सम्मेलनमा देशभरका युवा सहकारीकर्मीहरूको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार ००:००