६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छाडा पशु व्यवस्थापनपछि व्यवस्थित बन्दैछ सुर्खेतको बिरेन्द्रनगर



सुर्खेत । छाडा पशु चौपायका कारण दुर्घटना र ट्राफिक जाम बढ्दै गए पछि त्यसको व्यवस्थापन नगरपालिकाहरूको लागी टाउको दुखाईको बिषय बनेको छ ।

कतिपय नगरपालिकाहरूले छाडा पशु चौपाय व्यवस्थापन गर्न कार्यविधी जारी गरिसकेको छ । कतिपय नगरपालिकाले भने पशु चौपायको व्यवस्थापन नै सुरू गरिसकेका छन् ।

छाडा पशु चौपायको व्यवस्थापन गर्न सुरू गरेको नगरपालिका हो, सुर्खेतको बिरेन्द्रनगर । बर्षौंदेखि छाडा पशुको हैरान खेप्दै आएको बिरेन्द्रनगर नगरपालिकाले सामुदायिक गौशाला बनाएर छाडा पशु चौपाय व्यवस्थापन गर्न थालेको छ ।

नवप्रर्वतनकारी साझेदारी कोष (आईपीएफ) र नगरपालिकाको संयुक्त प्रयासले वडा नं. १० को भेरी नदी किनारामा गौशाला सञ्चालन गरिरहेको छ ।

आईपीएफका विज्ञ जनक भट्टराईका अनुसार नगरपालिकाले ‘सामुदायिक पशु व्यवस्थापन कार्यविधी– २०७९’ जारी गरिसकेको छ ।

“कार्यविधी जारी भएपछि नगरपालिकाले छाडा पशुहरूलाई सामुदायिक गौशालामा राखेर रेखदेख गर्दै आएको छ,” भट्टराईले भने, “कृषी तथा पशु प्रयोगशाला, सहकारी वा अनुसन्धान गर्ने संघसँस्थाले लैजान चाहे गौशालाले पशु चौपाय दिन्छ । पालिराख्नु भन्दा राम्रो कामका लागी अन्यत्र दिँदा राम्रो हो ।”

कार्यविधीले पशु चौपाय छाडा छोड्ने घरधनीलाई कारवाही गर्ने व्यवस्था गरेको छ । कार्यविधिअनुसार एक सहकारीलाई गौशाला व्यवस्थाको जिम्मेवारी दिइएको छ ।

साथै, सबै वडाबाट पशुको लगत संकलन गरि सकिएको छ । कार्यविधीले पशु चौपाय छाडा छोड्ने घरधनीलाई कारवाही गर्ने व्यवस्था गरेको छ ।

“वडाबासीसँग भएका पशुहरूलाई ट्यागिङ गर्ने तयारी छ । ट्यागिङले कसको पशु सडकमा आयो भनेर स्पष्ट हुन्छ । वडाबाट अद्यावधिक हुने पशुको लगत गडबढ भइराख्दो रहेछ,” भट्टराईले भने, “ट्यागिङ गर्नेबारे छफलफल चलिरहेको छ । त्यसलाई पनि चाँडै टुङ्ग्याउँदैछौँ ।”

मुख्यमन्त्री कार्यालय कर्णालीका सचिव आनन्द सारुले बिरेन्द्रनगरमा पशु चौपाय व्यवस्थापनको काम प्रभावकारी भएको बताए । सारुका अनुसार गौशालामा संरक्षित पशुहरूको संख्या ३ सयदेखि ५ सयसम्म थपघट भइराख्छ ।

“कार्यविधी जारी गरेर पशु चौपाय छाडा छोड्ने माथी निगरानी राख्ने, गौशाला सञ्चालन गर्नेजस्ता कामहरू गरे पछि ट्राफिक अस्तव्यवस्ता र दुर्घटना उल्लेख्य रुपमा घटेको छ,” सारुले भने “यसलाई दीगो रुपमा सञ्चालन गर्न नगरपालिका प्रतिवद्ध देखिन्छ । बिरेन्द्रनगरको पशु चौपाय व्यवस्थापन अरू स्थानीय तहका लागी पनि अनुकरणीय छ,” सारुले भने ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार ००:००