५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोल्पाका स्थानीय सरकार कृषिमा रुपान्तरण गर्न प्रतिवद्ध



उमा केसी
१६ माघ, रोल्पा ।
परम्परागत कृषि प्रणालीलाई रुपान्तरण गरी आधुनिक कृषि पद्धति अवलम्बन गर्ने गरी बजेट नीति तथा कार्यक्रम तय गर्ने रोल्पाका स्थानीय सरकारका प्रमुखले प्रतिबद्धता जाहेर गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय रोल्पा र कृषि क्षेत्र सम्बद्ध सरकारी र गैरसरकारी संस्थाले जिल्लाका दशवटै स्थानीय सरकारका प्रमुखका लागि आयोजना गरेको कार्यशाला गोष्ठीमा सहभागी स्थानीय सरकारका प्रमुखले सो प्रतिबद्धता जाहेर गरेका हुन् ।

जिल्लामा व्यावसायिक कृषिमा समेत आकर्षण बढिरहेको भएपनि अधिकांश किसान अझै परम्परागत र निर्वाहमुखी कृषिमै आश्रित रहेकाले उक्त पद्धतिमा व्यापक सुधार गर्नुपर्ने स्थानीय सरकारका प्रतिनिधिले सुझाव दिएका छन् ।

आधुनिकतासहितको व्यावसायिक कृषिले मात्र जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन सकिने भएकाले कृषि क्षेत्रमा हालसम्म सोच्दै आएको शैलीमा समेत रुपान्तरण गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

जिल्लाका सबै स्थानीय तहले कृषि क्षेत्रको पञ्चवर्षीय योजना बनाई कार्यान्वयन गर्नुपर्ने प्रदेशसभा सदस्य दीपेन्द्र पुनले सुझाव दिए । सामान्य लगानी मेहनत र इच्छा शक्तिले कृषिमा क्रान्ति सम्भव नभएको बताउँदै पुनले सोचाइ, लगानी र मेहनतमा ठूलो परिवर्तन ल्याए मात्र कृषिमा क्रान्ति सम्भव रहेको विचार व्यक्त गरे ।

अर्थतन्त्रको सुधारका लागि कृषि क्षेत्रको सुधार जरुरी रहेको औँल्याउँदै पुनले भने जिल्लामा हजाराैँ युवायुवती कृषिमै आश्रित रहेकाले उनीहरुलाई त्यसमै रमाउने वातावरण सिर्जना गराैँ ।

कृषि क्षेत्रमा देखिएका सबै समस्यालाई हल गर्दै सबै स्थानीय तह कृषिमा आत्मनिर्भर हुनसके जिल्लाको संवृद्धि हुने रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए । जीविकोपार्जनको आधार मात्र नभई आर्थिक विकासको आधार पनि कृषि भएकाले यसको विकासका लागि स्थानीय सरकार योजनाबद्ध ढंगले लाग्नुपर्ने केसीको सुझाव थियो ।

जिल्लाका स्थानीय सरकारका प्रमुख एकै थलोमा बसेर कृषि क्षेत्रको विकासका लागि देखाएको प्रतिबद्धताले आफू हौसिएको जिल्ला कृषि विकास कार्यालय, रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए ।

पहिलो पटक स्थानीय सरकारमार्फत कृषि क्षेत्रको ठूलो बजेट कार्यान्वयन हुन लागेको औँल्याउँदै अनुभवको कमीका कारण केही स्थानीय सरकारले चालू आवमा कम बजेट विनियोजन गरेको भए पनि आगामी आवमा यसको दायरा बढ्ने आफूले विश्वास लिएको श्रेष्ठले बताए ।

जिल्लामा कृषि क्षेत्रको विकासका लागि भन्दै मन्त्रालयबाट ५ करोड ६२ लाख ७८ हजार प्राप्त भएकोमा १० वटा स्थानीय तहले सभाबाट ५ करोड ७७ लाख ४ हजार विनियोजन गरेका छन् ।

विनियोजन गरेकोमध्ये रुन्टीगढी गाउँपालिकाले जिल्लामै सबभन्दा धेरै १ करोड ९० हजार कृषि क्षेत्रमा विनियोजन गरेको छ भने सबभन्दा कम बजेट सुकिदह गाउँपलिकाले १५ लाख मात्र विनियोजन गरेको छ ।

रोल्पा नगरपालिका र त्रिवेणी गाउँपालिका समेत यस वर्ष कृषि क्षेत्रमा कम बजेट विनियोजन गर्ने स्थानीय तहको रुपमा देखिएका छन् । उनीहरुले क्रमशः २९ लाख ६० हजार र ३६ लाख ४० हजार मात्र विनियोजन गरेका छन् ।
रासस

प्रकाशित मिति : १६ माघ २०७४, मंगलबार ००:००