८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रानीपोखरीको पुनःनिर्माणः सर्वोच्चले दियो यस्तो आदेश



७ माघ, काठमाडौँ ।
सर्वोच्च अदालतले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भइरहेको प्रतिवेदन प्रत्येक महिना पेश गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भए नभएको प्रतिवेदन पेश गर्न गराउन सरकारका नाममा मंगलबार आदेश दिएको हो ।

आदेशमा ऐतिहासिक र पुरातात्विक महत्वको रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भइरहेको प्रतिवेदन अर्को आदेश नआएसम्म प्रत्येक महिना लिखित जवाफसहित पेश गर्न भनिएको छ ।

आदेशमा भनिएको छ, “रानीपोखरी पुनःनिर्माणको कार्यमा पुरातत्व विभागको गत पुस ५ गतेको पत्रअनुसार सो पोखरी सार्वजनिक महत्वको भएको हुँदा आधुनिक सामग्री नभई परम्परागत शैलीमा निर्माण गर्न लागेको हुँदा अन्तरिम आदेश जारी गर्न परेन ।”

रानीपोखरीको निर्माण गर्दा परम्परागत नभई आधुनिक सामग्रीको प्रयोग गरेर मौलिकता नष्ट गर्न लागेको हुँदा रोक्नका लागि आदेशको माग गर्दै अधिवक्ता दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

सोही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले सो आदेश जारी गरेको हो । महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका बारेमा गठन गरेको विज्ञ समितिले आज नै मल्लकालीन शैलीमै रानीपोखरी निर्माण गर्न सुझाव समेत दिएको छ ।
रासस

प्रकाशित मिति : ७ माघ २०७४, आइतबार ००:००