६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लेखापाल नहुँदा गाउँपालिकाको अार्थिक काराेबार ठप्प



२५ पुस, बाबियाचौर– म्याग्दी ।
म्याग्दीको धौलागिरि गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प भएको छ । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाको कार्यालय करिब दुई महिनादेखि लेखापालविहीन भएको छ ।

लेखापाल नहुँदा गाउँपालिकाद्वारा सञ्चालित विभिन्न उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानी रोकिएको छ । कर्मचारीलाई तलब खुवाउन समेत समस्या भएको छ ।

धौलागिरि गाउँपालिकामा कार्यरत लेखापाल गुणराज रिजालको पर्वतको जलजला गाउँपालिकामा केही समयअघि सरुवा भएको थियो । रिजालको सरुवा भएपछि अर्का लेखापाल नआएकाले समस्या भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् ।

“महालेखा नियन्त्रकको कार्यालयले बेनी अस्पतालका लेखापाललाई सरुवा गरेको छ, तर उहाँ दुर्गम भएको कारण देखाउँदै अहिलेसम्म आउनुभएन” अध्यक्ष पुनले भनिन्, “सम्झौता भएका योजनाका उपभोक्ता समितिलाई पेश्की र काम सकेका योजनाको भुक्तानीदेखि कर्मचारीलाई तलब खुवाउने लगायत सबै आर्थिक कारोबार ठप्प भएको छ ।”

प्रजिअ कृष्णप्रसाद अधिकारीले कोष तथा लेखा नियन्त्रकको कार्यालयसँग समन्वय गरेर गाउँपालिकामा लेखापाल खटाउन पहल गर्ने बताए । म्याग्दीका सदरमुकाम स्थित कार्यालयका कर्मचारी काम नपाएर घाप तापेर दिन बिताइरहेका छन् भने स्थानीय तहमा कर्मचारी नभएर सेवा प्रवाह प्रभावित बनेको छ ।

विशेष गरेर वडा सचिव, कम्प्युटर अपरेटर, इञ्जिनियर, सव इञ्जिनियर, लेखापाल पदका कर्मचारीको अभाव भएको हो । कतिपय लेखापालले दुईवटा कार्यालयको जिम्मेवारी सम्हालेका छन् । साविककै दरबन्दीअनुसार पदपूर्ति हुन नसकेको र दुर्गमका स्थानीय तहमा कर्मचारी जान नमानेका कारण समस्या भएको हो ।
रासस

प्रकाशित मिति : २५ पुस २०७४, मंगलबार ००:००