१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नदी कटानबाट बेनीबजार जोगाउन संरक्षण आयोजना



७ पुस, बेनी– म्याग्दी ।
कालीगण्डकी र म्याग्दी नदीको कटानबाट सदरमुकाम बेनीबजारलाई जोगाउन ११ करोडको लागतमा बेनीबजार संरक्षण आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनीबजार नदी कटानको उच्च जोखिममा परेपछि जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउन कार्यक्रम आयोजना गरिएको हो ।

आयोजनाअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण सबडिभिजन कार्यालय बागलुङले चालू आव २०७४/७५ मा दुईवटा प्याकेजमा काम गर्ने गरी ११ करोड ३२ लाखको लागतमा कालीगण्डकीको दायाँ र म्याग्दी नदीको बायाँ किनारामा आरसिसी र रिटेनिङ (मेसिनरी) पर्खाल निर्माणको कार्य शुरु गरेको थियो ।

बेनीको मंगलाघाटस्थित म्याग्दी नदीको बायाँ किनारा, म्याग्दी र कालीगण्डकीको दोभान तथा कालिपुलस्थित कालीगण्डकी नदीको दायाँ किनारामा रिटेनिङ र आरसिसी पर्खाल सम्झौता अगाडि नै सम्पन्न गर्ने समानान्तर बिएन जेभीका नारायण जिसीले बताए ।

“तीव्र गतिमा काम भइरहेको छ । नदीको धारसमेत परिवर्तन गरिएकाले पनि सहज भएको छ”–जिसीले भने । निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्षसमेत रहेका जिसीले ३९७ मिटर रिटेनिङ र आरसिसी पर्खालमा दैनिक २०० कामदार परिचालन गरिएको जानकारी दिए ।

जिसीका अनुसार मेसिनरी पर्खाल छ मिटर र आरसिसी ७।५ मिटर अग्लो हुने छ । नदी आसपासमा पानीको बहावले निर्माणकार्यमा असर गरेपछि नदी आसपासमा बसोबास गर्नेहरूसित समेत छलफल गरी नदीको धारलाई परिवर्तन गरेकाले पनि आयोजनाको कामले गति लिएको छ ।

ठेक्का सम्झौता एक वर्षको भएपनि असारभित्र नै काम सम्पन्न गर्ने ठेकेदारको दाबी छ । जलउत्पन्न प्रकोप नियन्त्रण सवडिभिजन कार्यालयका इन्जिनियरसहितको प्राविधिक टोलीले दैनिक स्थलगत अनुगमन गर्ने गरेको जनाएको छ ।

दुईवटा ठूलो नदीको कटानले बेनीबजार जोखिममा पर्न थालेपछि बजार संरक्षण उपभोक्ता समिति निर्माण गरी एक दशकयता सरकारी बजेट र चन्दा संकलन गरी ग्याबियनजालीले समेत कटान भएका क्षेत्रमा रोकथाम गर्ने गरिएको थियो ।

कटान रोक्न ग्याबियन जाली तथा ढुंगाको प्रयोग प्रभावकारी नभएपछि आव २०७१/०७२ देखि २०७३/०७४ सम्म आरसिसी पर्खालको योजना परेको थियो । तर पाँच महिना अघिदेखि भने निर्माण कार्यले तिव्रता पाएको हो ।
रासस

प्रकाशित मिति : ७ पुस २०७४, शुक्रबार ००:००