८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अझै अन्धकार छ बाह्रदशी, उज्यालो गाउँपालिकाको लागि करोड बजेट



सुरेन्द्र भण्डारी
६ पुस, सुरुङ्गा– झापा ।
देशकै सुगम जिल्लामध्येको जिल्ला हो, झापा । तर, यो जिल्लाका धेरै ठाउँमा अझै पनि विद्युत् सेवा पुग्न नसक्दा यहाँका हजारौँ सर्वसाधारण वर्षौदेखि टुकीको भरमा बस्न बाध्य छन् ।

त्यसमा पनि बाह्रदशी गाउँपालिकाको दक्षिणी भेगका सर्वसाधारणको विद्युत् सेवा उपयोग गर्ने सपना सपनामै सीमित छ । बाह्रदशी गाउँपालिका वडा नं १ मा रहेको भागुडुब्बा बजारमा विद्युत् सेवा नपुग्दा यहाँका सर्वसाधारण अन्धकारमा बस्न बाध्य छन् । भागुडुब्बा बजार मात्र होइन सोही वडाका एक हजार २०० घर परिवारमध्ये झण्डै एक हजार परिवार वर्षौंदेखि विद्युत् सेवाविहीन छन् ।

पूर्व श्रम तथा यातायात व्यवस्था सहायकमन्त्री टेकनारायण राजवंशीको गाउँ हो, भागुडुब्बा । उनी राज्यमन्त्री हुँदा यहाँका अधिकांश सर्वसाधारणले विद्युत् विस्तारका लागि धेरैपटक आग्रह गरेका थिए । तर मन्त्री राजवंशीले आफ्नै ठाउँमा विद्युत् विस्तार गर्न नपाउँदै छ महिनामै पद मुक्त भए ।

त्यस्तै, नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकी तत्कालीन झापा क्षेत्र नं ५ बाट दुई दुई पटक संसद्मा निर्वाचित हुँदै सामान्य प्रशासन मन्त्रीसमेत बने । उनी मन्त्री हुँदा यहाँका सबैले पहिलो प्राथमिकतामा राखेर विद्युत् विस्तार गर्न माग गरे । तर, तत्कालीन मन्त्री बुढाथोकीले भागुडुब्बावासीको माग पूरा गर्न नसक्दा उनीहरु अझै पनि अन्धकारमा बस्न बाध्य छन् ।

बाह्रदशी गाउँपालिकाको वडा नं २ को पनि अवस्था उस्तै छ । वडा नं २ का अझै १०० भन्दा बढी घर अर्थात सिङ्गो मोटापानी गाउँमा विद्युत् सेवा पुग्न सकेको छैन ।

मोटापानी गाउँ राजगढ बजार पश्चिमको गाउँ हो । बजारबाट झण्डै एक किलोमिटर दूरीमा यो गाउँ रहेको छ । यहाँका सर्वसाधारण अझै विद्युत् सेवाविहीन रहेको वडाध्यक्ष यादव मिश्रले बताए ।

त्यस्तै वडा नं ३ मा पनि झण्डै ६० देखि ८० परिवार विद्युत् सेवाविहीन रहेको वडा अध्यक्ष वीरेन्द्र राजवंशीले बताउछन् । उनले आफ्नो वडामा विद्युत् विस्तारका लागि ३ सय देखि ४ सय विद्युत् पोल आवश्यक पर्ने बताए ।

यता वडा नं ४ मा पनि सबै क्षेत्रमा विद्युत् विस्तार भइनसकेको बताउछन्, वडाध्यक्ष समिम मियाँ । उनी भन्छन् – साविक चकचकी १ को केही भाग र वगान एरियामा विद्युत् विस्तार हुन सकेको छैन । विद्युत् सेवाविहीन सन्थाल समुदायका धेरै छन् ।

बाह्रदशी ५ मा १५० भन्दा बढी घरपरिवार विद्युत् सेवाविहीन छन् । वडाध्यक्ष भूपेन्द्र कटुवालका अनुसार सन्थाल बस्ती, बद्री गाउँ, मुन्सी बगानलगायतका स्थानमा बसोबास गर्ने अधिकांशले विद्युत् सेवा उपयोग गर्न पाएका छैनन् । वडा नं ६ का अध्यक्ष रत्नप्रकाश योङ्हाङका अनुसार सो वडामा अझै पनि २०० घर परिवार विद्युत् सेवाविहीन छन् ।

विद्युत् सेवा उपयोग गर्न नसक्नेमा आदिवासी जनजाति बढी रहेका छन्, अध्यक्ष योङ्हाङले भने– यो आर्थिक वर्षभित्र सबैको घरमा विद्युत् सेवा पुग्छ । अछुतो छैन, बाह्रदशी ७ पनि । बाह्रदशी ७ को बत्तीसविगाह एरियामा विद्युत् सेवा पुग्न नसक्दा त्यहाँका सर्वसाधारण विद्युत् सेवाबाट वञ्चित छन् । वडाध्यक्ष मित्रराज भट्टराईका अनुसार वडा नं ७ मा थोरै संख्यामा मात्र विद्युत् सेवा पुग्न सकेको छैन ।

अध्यक्षकै घरमा छैन बिजुली

बाह्रदशी गाउँपालिकाका अध्यक्ष हुन्– खड्गप्रसाद राजवंशी । उनको घर बाह्रदशी गाउँपालिका वडा नं २ मोटापानीमा रहेको छ । उनी अझै पनि विद्युत् सेवाविहीन छन् । उनी मात्र होइन, उनको सिङ्गो मोटापानी गाउँमा अझै विद्युत् सेवा विस्तार हुन सकेको छैन । वडा नं १ का अध्यक्ष शम्भुसिंह राजवंशी पनि विद्युत् सेवाविहीन छन् । उनी भागुडुब्बा निवासी हुन् ।

उज्यालो बाह्रदशीका लागि एक करोड

बाह्रदशी गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको छ, विद्युत् सेवा विस्तार । सबैको घरमा यही आर्थिक वर्षभित्र विद्युत् सेवा पु¥याउने लक्ष्यसहित गाउँपालिकाले उज्यालो बाह्रदशी अभियान नै सञ्चालन गरेको छ ।

यसका लागि गाउँपालिकाले एक करोड बजेट विनियोजन गर्दै लगत संकलनमा जुटेको बताउछन्– गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी । उनी भन्छन्– यही महिनाभित्र लगत संकलन गरी विद्युत् विस्तारको काम शुरु हुन्छ । हाम्रो पहिलो प्राथमिकता भनेकै सबैका घरमा विद्युत् सेवा पु¥याउनु हो ।

उज्यालो बाह्रदशीका लागि सार्वजनिक स्थानमा समेत सोलार जडानका लागि ३०० वटा सोलार बत्ती खरिद गरिँदैछ । विपन्न वर्गका घरमा निःशुल्क विद्युत् जडान गर्न गाउँपालिकाको सहयोग रहन्छ– अध्यक्ष राजवंशीले भने ।
रासस

प्रकाशित मिति : ६ पुस २०७४, बिहिबार ००:००